Sunday, August 14, 2016


आठ वर्ष अघि लेखिएको यो भद्रगोल लाग्न सक्छ, तैपनि अलिकति समसामयीक बनाउने प्रयत्न गरिएको छ, पाठकले मिलाएर पढ्नुभए नभद्रगोल पनि हुनसक्छ ।
अन्तरमन देखि जाग्न चाहने प्यारा साथीहरु,        
          साथी, एक परिवार देखि लिएर सिङ्गो राष्ट्रलाई नै पिरोलिरहेको अशान्ति, वैमनश्यता र यसले विभिन्न पक्षमा निम्त्याएको समस्याको बारेमा एक अवला नेपाली नारी नागरीकका हैसियतले सबैसामु आफूले बुझेको कुरा केही मात्र लेख्न चाहन्छे । । हुन त पाठकहरू विभिन्न उमेरका व्यक्तिहरू हुनुहुन्छ, यसले साथी भनी सम्बोधन गर्दा अन्यथा नलिनुहोला किनकी यसको मन साथ दिने सबै प्राणीलाई साथी भन्न रुचाउछ । यसको जीवनअनुभवमा कुनै विशेष व्यक्तिहरू मात्र साथी हुदैनन् जुन साथीहरूको साथले मात्र जीवन जीउन सरल होस् वा सकियोस् ।
यहाँ, राष्ट्रको मुल कानुन अर्थात् सविंधान लेखनपछि कार्यान्वयनको प्रक्रियामा हामीहरु विभीन्न स्वरुप र स्वभावहरू प्रस्तुत गर्न तम्सिएका छौ ।  साथीहरू, यस भूमिमा स्थायी सुख र शान्ति स्थापनाको लागि आन्दोलनरत जनमास सधै जागृत अवस्थामा नै रहन्छन् ।   यहाँ हामीले कस्तो उल्टो चलन चलाएका छौ, राष्ट्रिय विभुति तथा विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको विचारको कदर गर्छौ, उनिहरूको वर्ष–वर्षमा सम्झनास्वरुप विभिन्न कार्यक्रमहरू पनि गर्छौ तर ती महान् विचारहरू व्यवहारमा उतार्ने प्रयास गर्दैनौ,   साँच्चै ! गर्दै गर्दैनौ । असल विचार अनुशरण र असल व्यवहार नै वर्तमानको लागि महत्वपूर्ण छ तर हामी सम्झनालाई महत्व दिन्छौ अनी पछि, पछि कल्पनालाई । अत्यधिक सम्झना र कल्पना गर्ने बानी परेका हामी वर्तमान त भुसुक्कै भुल्छौ अनी बोली र व्यवहार फेरीरहन्छौ । कुनै संकल्प पुरा हुदैनन् । विभिन्न पार्टीका विभीन्न नेता कार्यकर्ताहरूमात्र हैन समग्र लोक नै अवस्थानुसार र समयानुसार बोली र व्यवहार फेरीरहन्छन्, यो परिवर्तन प्रकृतिको नियम हो भन्दा फरक नपर्ला । यहाँ कसैको दोष देखिदैन । मानिसको शरिरभित्र त अनगिन्ति अणु, परमाणुहरू उत्पन्न हुने र नष्ट हुने प्रक्रिया एकदमै तिब्र गतिमा भईरहेको हुन्छ भने त्यहि अणु, परमाणुले बनेको शरीर र भौतिक शरिर भित्र निहीत मन पनि एकदमै तिब्र गतिमा परिवर्तन हुन खोजिरहन्छ । जसले अथक प्रयासद्वारा मनलाई वशमा पार्न सक्छ, अनि शही मार्ग रोजी अघि बढी रहन्छ उही व्यक्ति असल र सफल हुन्छ । यहाँ कतिपय असल छन् तर सफल छैनन् कोही सफल छन् तर असल छैनन् । 

हामी अधिकासं व्यक्तिहरू शुन्दर गाँउ घरको याद सगैँ यस ठाउँ, समय र आफ्नो अवस्थानुसार आइपर्ने विभिन्न समस्याहरूसँग  पौठेजोरी खेल्दै यो शहरमा दिनरात, महिना या वर्षौ विताइरहेका छौ । हाम्रो छोटो जिन्दगीको आयु पनि विस्तारै घटिरहेको छ । आज हामी विभिन्न पारिवारीक वातावरणमा हुर्किएका विभिन्न तर सम्पूर्ण अनुहारहरू शान्ति प्राप्तिका लागि भुतका घटनाहरू सम्झिएर अर्थात् भविष्यलाई कल्पिएर वर्तमानमा तछाड–मछाड गर्दै तोडफोड, हुलदंगा, झै–झगडा, अनावश्यक विवाद जस्ता अशान्तिजनक कार्यमा आफ्नो मन, तन र धन समर्पित गर्न राजी हुन्छौ । छोटो जिवन भएपनि हामि धेरै दायित्वहरूको बोध गर्छौ । हामी मध्ये धेरै व्यक्तिहरूले परिवारकै उत्तरदायित्व बोकेका हुन्छौ जसले परिवारको भलोको लागी विना राग र द्धेष केही असल काम गर्दै रहन्छ ऊ विस्तारै समाजको लागी पनि केही गर्दै गएको हुन्छ, जसले गर्दा ऊ एउटा परिवारको मात्र आवश्यक व्यक्ति हुदैन ऊ समाजको पनि आवश्यक र प्रिय बन्छ विस्तारै उसको इलमले चर्चा पाउछ ऊ देश, विदेशको श्रदालु र प्रशंसा योग्य बन्छ, यो उसले गरेको विचार र विचारानुसार निरन्तर गरेको कर्मको नतिजा हुनजान्छ यसको मतलब असल कर्म नै ठुलो हुन्छ तर त्यहि कर्म निरन्तरताको भङ्गताले नै मानिस सानो हुन्छ । असल कर्मलेनै मानिस विद्धान हुन्छ भने खराब कर्मले मानिसलाई खराव बनाइदिन्छ ।  
आज विशेषतः युवा पिडीहरु बेरोजगारको मारमा छन्, तिनै पिडीहरू नै यहाँ प्रशस्त छन् जो एस्.एल.सी. पछिको या अघिको औपचारिक शिक्षामा असफल हुन्छन्, जो एउटा राम्रो इलम नपाएर विभिन्न संघ–संस्थामा कामको लागि धाउने गर्छन् अनि जागिर प्राप्तीको लागि गरेको दौडधुपको क्रममा घटेका विभिन्न घटनाहरूको अनुभव लिएर आ–आफ्नो बहालतर्फ लाग्छन्, सुर्यास्त भैसकेको हुन्छ । भिडम–भिड गाडि भित्र कतिपय महिला दिदी बहिनीहरू अधवैसेहरूले आफ्नो इन्द्रियहरूलाई वश गर्न नसकेर दिएको अनेक सास्ती र झन्झटहरू खेप्न बाध्य छन् । सडकमा धुलो, धुवा र फोहोरका डंगुरबाट आउने दुर्गन्ध यि सबै खाले विकृतिबाट हैरान भएका र उपत्यका भित्र यात्राको असरले टाउको तातेको, गाडिमा झुण्डिएको, झुण्डिदा टोपी उडाएको, च्यापिएको, निसासिएको, रिगँटा लागेको अर्थात् टाउको दुःखेको यि यस्ता विभिन्न अनुभवहरू सम्झदै गुन्द्रक र भात बनाएर खाई थकित हुदै सुत्ने यहाँ विभिन्न जिल्लाका अर्थात् गाउँबेसीका अधिकांस मानीसहरू    बस्छन् । साथीहरू, विभिन्न समस्याले पिरोलीएका, राष्ट्रको अस्पष्ट नितीबाट वाक्क भएका यी युवा पिडिहरूलाई सरकारले मार्ग निर्देश गर्न पनि यसभीत्र यस्तो योग्य जनशक्ति हुनु अत्यावश्यक छ, जुन जनशक्तिको विचारमा सम्पूर्ण लोक प्रति निस्वार्थ पे्रमभाव छ, जुन जनशक्तिले प्रत्येक नागरीकलाई कर्मको पाठ सिकाउन सक्छ, धर्मको मर्म बुझाउन सक्छ, । एउटा व्यक्ति जागृत भएमा पनि लोकले नयाँ मुहार फेर्न सक्छ जस्तै बुद्धको समयमा उहाँ जागृत हुदाँ अधिकाँस मानिसहरूले शान्तिको अनुभुति गर्न सकेको सत्य इतिहास जिवितै छ ।
सरकार बनाउन नेपाली बृद्ध, बृद्धाहरूको कस्तो भुमिका हुनुपर्छ ?
नेपाली आमाबुवाहरू अर्थात् मानवअवस्थाको अन्तिम चरणमा पुग्नुभएका अनुभवी बृद्ध–बृद्धाहरू जसले अनगिन्ति अनुभवहरूबाट ज्ञानको सङ्ग्रह गर्नुभएको छ उहाँहरूकै विकारमुक्त विचारहरूले  सरकार बनाउन ठुलो भुमिका खेल्छ । 
१) विभीन्न धर्म, पार्टी र संस्थामा सम्वन्ध रहेका वृद्ध–वृद्धाहरुले यो बुझ्नुपर्छ की जुनसुकै  धर्म, पार्टी, र संस्थाहरूपनि मानीसको मनले निर्माण गरेका हुन् । नदेखेको कुरामा विश्वास गरेर देखेको कुराबाट पलायन हुन खोज्दा नै दुःख पाइन्छ । त्यसैले वर्तमान समयलाई मध्यनजर गरेर नयाँ पार्टी, नयाँ धर्मको निर्माण गर्नु पर्छ जुन पार्टी र धर्मले सर्वहित गर्छ, जुन प्रत्येक व्यक्तिको साझा संस्था र संस्कार बन्न सक्नेछ । 
२) युवा–युवतीहरू तथा बाल–बालीकाहरूलाई शही मार्ग निर्देश गर्नुपर्छ जुन मार्गमा यात्रा गर्दा उनीहरू जिवनयात्राभरी अन्धकारको खाल्डोमा पर्न नसकुन् यदी कथम्कदाचित् खाल्डोमा परे आत्तिने र हरेश खाने बाटो रोज्न नसकुन् । 
३) निःस्वार्थ भावसहित आफूभित्र रहेको सद्विचार निसंकोचरुपमा सम्पूर्ण बृद्ध–बृद्धाले प्रचार गर्न सक्नुपर्छ । 
४) छोटो जिवनको अन्तिम अवस्थामा पूगेर पनि बृद्ध–बृद्धाहरूले देशलाई नयाँ रूप दिन सक्छन् जब उनीहरू सत्य र  सहि कुरा बोल्छन् या निर्देश गर्छन् । यसो गर्दा उनीहरूले यथेष्ट सम्मान प्राप्त गर्नेछन् र संचित शक्ति बलीयो हुनेछ ।  
सरकार चलाउन युवाहरूको जोश र उत्साहको कसरी शही उपयोग गर्ने ?  
साथीहरू, हामी युवाहरूले यो यथार्थ बुझ्ने प्रयत्न गर्नु पर्छ की, कीन हामी–हामी बिच वैरभाव, कुविचार, अशान्ति, तथा बदलाको भावना पैदा हुन्छ ? आजको समय मेरो अनुभवमा म यो निसंकोच र निर्धक्क भएर भन्न सक्छु, जो व्यक्तिले जब आफुलाई फर्केर हेर्ने गरेको हुन्छ, तब उसले अरुलाई पनि आफु जस्तै देख्न थाल्छ । आफु र अर्कोमा केहि फरक देख्दैन जसले गर्दा अरुको नराम्रो सोच्न सक्दैन अर्थात् अर्को नहुदा आफ्नो पनि अस्तित्व नहुने सत्य अनुभुति गर्छ, जस्तै लेखक नभई पाठक हुदैन पाठक नभई लेखकको के अर्थ र?, व्यापारी छैन भने ग्राहक हुदैन,  ग्राहक बिनाको व्यापारी कहाँ छ र ?  सबै अर्कासँग सम्बन्धीत छन् । यो यथार्थ बुझी सबैसँग मैत्रिभाव फैलन थाल्दा मानिसले शान्तिको महशुस गर्न सक्छ, शान्तिको वातावरण पैदा हुदाँ मनलाई एकत्रित गरी उसले गरेका हर कार्य सफल हुन्छन् । आफुभित्र निहीत यथेष्ट शक्तिको महशुस गर्न थाल्दा कसैप्रति रहेको रिस, द्धेष ईष्र्याको भावना  स्वतः हटेर जान थाल्छ । सबैको मङ्गल हुदाँ आफ्नो पनि मङ्गल हुन्छ भन्ने बुझि ऊ आफ्नो मङ्गलको लागी सवैलाई सेवा गर्न थाल्छ, परोपकारी कार्य र त्यसले सवैको अनुहारमा छरिएको खुशिको तरङ्गले उसलाई अनायासै अझै बढि भन्दा बढि सेवा गर्न आफुलाई सक्षम बनाइरहन्छ, हर समय कडा परिश्रम गर्न पछि पर्दैन । 

तसर्थ,
१) हामी प्रत्येक व्यक्तिले सर्वप्रथम आफुभित्र स्थायि शान्तिको स्थापना गर्ने मार्ग रोज्न सक्नुपर्छ तब स्वतः राष्ट्रमा स्थायी शान्तिको स्थापना हुन्छ । कथाकथित आन्दोलन र अनावश्यक विरोधले स्थायी शान्ति स्थापना हुनेछ भन्ने भ्रम हामीले पाल्न हुदैन । 
२) आफुभित्र निहित प्रचुर शक्तिको अनुभुति गर्नुपर्छ ।
३) आफ्नो मनलाई अनुकुल नियम र कानुनको परिधिमा मात्र पार्न प्रयत्न गर्नु पर्छ ।
४) अध्ययन अर्थात् निरन्तर असल कर्म गर्नुपर्छ । 
सरकार संवद्र्धन र संरक्षण गर्ने बालबालिकाहरूलाई हामीले कसरी लिनुपर्छ ?
        बृद्ध, बृद्धा  अस्ताउन लागेका डाडा माथिका घाम हुन् यीनीहरू नै नेपालको अस्तीत्व जोगाइराख्ने अस्तिका बालबालिका र हिजोका युवा युवती हुन्, त्यस्तै युवाहरू भनेका हिजोका बालबालिका र भोलिका बृद्धबृद्धा हुन् । तर, बालबालिका त भोली, पर्सिका युवा वा बृद्ध बृद्धा हुन् ।  बालबालिकाहरू जीवन यात्रा क्रममा अतितको अनुभवबाट शही मार्ग निर्देश गर्न सक्दैनन् उनीहरूसँग अतितका अनुभवहरू स्मरणमा हुदैनन् । तसर्थ, यीनिहरूलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने जिम्मा अभिभावकको हो अर्थात् बृद्ध–बृद्धा या युवा–युवतीको । अपवाद बाहेक सम्पूर्ण बालबालिकाहरू माथिल्लो अवस्थामा हीडीरहेका व्यक्तिहरूको बाटो पछ्याउछन् । माथिल्लो अवस्थामा हिडिरहेका मानिसहरूले रोजेको मार्ग जुन छ स्वभावैले उनीहरूपनि त्यही मार्ग अवलम्बन गर्छन् । त्यसैले हामी माथिल्लो अवस्थाका हर व्यक्तिहरूमध्ये कोही खराव मार्गतर्फ लागिराछौं भने तुरून्त मार्ग मोडौं जसले गर्दा हाम्रो हर बानीको नक्कल गर्ने अबोध बालबालीकाहरूले शहि मार्ग तर्फ आफ्ना पाइलाहरू चाल्न सक्नेछन् । 
आज विभिन्न अवस्थामा जीउदै गरेका प्रत्येक प्राणीहरूले एकचोटि त मृत्युवरण गर्नै पर्छ, यो धु्रवसत्य हो की मृत्यु सवैको साथमा छ, यहाँ प्रत्येक प्राणीले जन्मदै मृत्यु साथमा बोकेर आएका हुन्छन् । 
       अन्तरमन देखि इच्छा गरेमा मानीसले गर्न नसक्ने काम केहि छैन भन्ने कुरा हामी विश्वास गछौँ, हामी सबै वास्तवमै शान्ति चाहन्छौ । त्यसको लागि हामी प्रत्येक नागरीक राष्ट्रमा स्थायी शान्ति स्थापनाकोलागि अन्तरहृदयदेखी (मानसीक, शारीरिक तथा व्यवहारीक रुपले) आफ्नो शरीर अन्त्य हुनु भन्दा पहिले नै यो कुरामा सचेत रहनै पर्छ कि आफूभित्र रहेको वैमनश्यता, पुर्वाग्रही भावना, कुविचार (आक्रमक भाव, वैरी भाव), आलश्यता, रीस, राग, द्धेष, अहंकार जस्ता मनका विकारहरूद्धारा भावी पीडि ग्रसित हुनु नपरोस् । बालबालिका नै भविष्यका कर्णदार हुन्, उनीहरूलाई असल कर्म निर्देश गर्न हामीले आफुमा परिवर्तन ल्याउनै पर्छ । कर्म भन्दा ठूलो धर्म संसारमा अरु केहि छैन । तनलाई वशमा पार्दै सच्चा मनले गरेको कर्म भन्दा ठुलो अरु केहि छ भने त्यो मिथ्या भ्रम मात्र हो । भ्रामिक जाल मात्र हो ।