Monday, October 24, 2016

मेरा सात बार

हरेक बिहानी रात उठ्छ दिन बनेर । म पनि उठ्छु अर्को एकदिनको दिनचर्या बनाउन ।
मसँग एकहप्ताको फेहरिस्त याद छन्, 

आइतबार 

राती आँगनीमा बुटको डमडम आवाज आएको आमा कत्ति छिटो थाहा पाउनुहुन्छ मानौं उहाँ त्यही सुन्न धेरै दिनदेखी प्रतिक्षारत हुनुहुन्छ । रुन लागेका भाई तथा बहीनीको मुख थुनिन्छ । भुईतल्लामै छँदा बत्ति निभाईन्छ । मट्टितेलको सहारामा सल्किरहेको सलेजो बल्न छोडेपछी घर यस्तो चकमन्न हुन्छ मानौं सदियौं देखि कानमात्र छोडेर मानिस गायव छन् । बाहिर हजार पाइला उकालो लागेको आवाज बन्द भएपछी बल्ल हामी निर्धक्क सास फेर्छौं । आमा आनन्दको सुस्केरा हाल्नुहुन्छ र बाबा भाई बहिनी दुवैलाई दुई काँधमा हालेर सुताउन लैजानुहुन्छ ।  

सोमबार 

राती भिडन्तमा विद्यालयको शिक्षक गुमेको खबर गाउभरी फैलीन्छ । गाउँको कुनाकुनाका ढुङ्गा माटो पनि टोलाउछन् त्यो दुखद् खबरले । 
त्यसको केही समय पछि बाबाआमाले चिनेको (सायद साथी पनि हुनुपर्छ) च्यामाको एक व्यक्ति घिसारिदै दयनीय अवस्थामा मारिएको खबर आउँछ । एकपछि अर्का गर्दै घट्ने यस्ता घटनाले मानिसहरुको मानसिकतामा डर र त्रास पैदा भै मन्द विषको काम गर्दै थियो । 
ड्याङ ड्याङ आवाज जब मानिसका कानमा पर्छ तिनीहरु प्रार्थना पर्छन् भगवान् कोही चिनेजानेको नपरोस् । 

मङ्गलबार 

विद्यालय बिदा छ र हामी सबै स्तब्ध छौं । मैले अर्चलेबाट उकालो लाग्दा चक माख्लो खेतमा उफारेर कुद्दै समाउन जाने र पुन उही प्रकृया दाेहोर्याउदैँ लामाे बाटाे कटाउने एक सरल र असल शिक्षक सम्झिरहेँ । आफू पाइलट बन्छु भनेको पनि सम्झिरहेँ । 
बाख्रा चराउन बेसि लगियो । बाख्रा खेद्दै पछि पछि कुद्दा बडो रमाइलो हुन्थ्यो तर मकैबारीमा छिरेँ भने रुनु न हास्नु बनाउथे डाम्नाहरु । एउटा कालो पाठोको नाँच बडो रोचक हुन्थ्यो पछि ठूलो भएपछी हुथुथु गर्दै त्यो पाठी र बाख्रीको पछी लाग्न थाल्यो । हरीवशंको खसीको आत्मकथामा म पात्रको दाई जस्तै । तैपनी ऊ प्रिय थियो । त्यसलाई काटेपछी मैले उसको गर्धनको काला केशहरु पछीसम्म हेरीरहेँ ।  सम्झीरहेँ । भर्खर ऊ हिड्न जाँन्दा कत्ति खुशी हुदै उफ्रिन्थ्यो । उसकी आमा बसीरहँदा उनको फुलेको पेटमाथि आफू चढेर बस्थ्यो । जस्तासुकै ठूलठूला बाख्रा तथा खसीहरुसँग पनि जुध्न जान्थ्यो । कैलेकाही त भैसी र गाेरुसँग पनि खेल्न जान्थ्यो । मैले त्यो फुच्चे छँदै नाम राखिदिएँ, काल्याम । 
आज बेसीमा भाईहरु आए र मलाई सोधेँ दिदी "उड्नुहुन्छ ?"
पाइलट बन्ने भनेर सरसँग कहाँ त्यत्तिकै भने हुँला र ? उड्ने इच्छा नै नभएको भए । 
“उड्छु ।” मैले भनेँ उनीहरु यस्तरी हासे कि थाहा पाउन मुस्किल पर्थेन, तिनीहरु गिज्जीने मुडमा छन् । भाईहरु उल्लु र बकम्फुसे कुरामा माहिर । मैले एकाएक विचार परिवर्तन गरेँ र भनेँ “उड्दिनँ ।” 
"उड्नु न उड्नु ।" हामी उडाइदिन्छौं । 
"कसरी उडाउछौं ?" उनीहरुको पछि नलाग्ने प्रढ भएपनि मैले सोधेँ । उनीहरु हाँसीमात्र रहेँ । 
पल्लो खेतबाट अर्जुन दाई "तिमीहरुलाई केटा हो ।  पख, म नमारी कहाँ छोड्छु" भन्दै कान्लै कान्ला हाम्फाल्दै थिए । उनी रिसले चुर भएका थिए । 
उनीहरुले अर्जुन दाईलाई भर्खर कसरी उडाएको भनेर बताए ।  एउटा मानिसलाई डाँडाका ढुङ्गामा उभिन लगाउने, उसको आँखामा पट्टि बाँधिदिने र दुवै हात र खुट्टामा लठ्ठि राखेर त्यसलाई डोरीले बाधिदिने अनि लगाएको कपडा खोलीदिने । यत्ति गरेपछि मानिस उड्थ्यो । 
एकचोटी मैले रमाइलो खेल देखेँ भाइहरुको । भाईसँग दाई पनि मिल्दै दाजुभाई खेतमा खन्तिले खोप्थे । त्यहाँ बनेको प्वाँलभित्र आफ्नो कुरी छिराउदै पिसाब फेर्थे । उनीहरु यो बडो रमाउदै प्रतिस्पर्धात्मक तरिकाले गर्थे । 
एकदिन चौका खेतको एउटा ढुङगामाथी आचिको डल्लो थियो ।  सबैले छिछी दुरदुर गर्ने आँची पनि उनीहरुको खेलौना बन्थ्यो । म छक्क परेर तिनीहरुलाई हेर्थे । त्यस्तै एकदिन पल्लो गाउँको भाई सहित तिन दाजुभाईले रुम्टीमा एउटा खेत पानीले भरे र नाङ्गै भएर पौडन थाले । बिचरा अबोध बालकहरु, पौडदापौडदै खेतको पिर्रेले पोल्न थालेपछी छटपटाउदै तिनै भाई खोलामा जिउ पखालेर घरतिर हान्निए ।
  

बुधबार 

बिहान भान्सामा तल्लिन हुदै म कुकरमा भात बसाउछु । गोबर ग्यास छ हाम्रो घरमा र ग्यासको लागि गोबर निकाल्ने र बाबालाई एक डल्लो भात थपुँ थपुँ  लाग्ने बनाउने दुध दिने एउटा गुनी भैसी छ । 
ग्याँसचुल्होमा बसालेको कुकरमा सिठ्ठी हुँदैन र म छेस्को हालिदिन्छु । भित्रको कुरा भुलाउने मिठो कथा बाबाले सुनाउदै हुनुहुन्छ । अाँगनको डिलमा अामाले बनाएकाे सानाे झिँगटीको पर्खालमा दिदीसँग म पनि गएर बस्छु । पहिले पहिले बाबा अकबर र बिरबलको कथा सुनाउनुहुन्थ्यो । ठेकीमा मोही पार्दै कथा सुनाउने क्रममा निदाउनुहुन्थ्यो र बिरबल पात्र पलपल फेरिन्थ्यो र अकबर आफ्नै कथाबारे बेखबर हुन्थ्यो । अहिले बा न्यूटनको कथा सुनाउदै हुनुहुन्छ । ग्याँस चुल्लोमा कुकर भित्रको बाफ उकुसमुकुस भैरहेको छ । बाबाको कथा रफ्तारमा गैरहेको छ । आमा ढुनुफुनु गर्दै त्यतै कता हुनुहुन्छ । एक्कासी बम पड्कीन्छ । उफ् आज घरमै बम पड्कियो ।
यता कथामा खुसीले न्युटन नाङ्गै उफ्रिदै छन्, उनको अनुसन्धान उपलब्धीमूलक भएपछी । पानी भरी भएको भाडामा कुनै पदार्थ हाल्दा किन पोखीन्छ उनले पत्ता लगाएका छन् । काममा मग्न हुँदा खान पिउन भुल्ने बैज्ञानिक अहिले लाउनै भुलेको अवस्थामा छन् । उता आमा तर्सिएर कुद्दै आउनुहुन्छ । बाबाको अनुहार एकैचोटी परीवर्तन हुन्छ । म कुद्दै ग्याँस बन्द गर्ने मेनस्विचतिर दगुर्छु । दिदी अल्मलिदै झसंगीदै हुनुुहुन्छ । 
कुकर पड्कीयो । यो यथार्थ थाहा पाएपछि आमा त झन् कड्किनुहुन्छ । कुकरभित्रको बाफ जम्मा भएर निक्लने ठाउँ खोजेको खोजै । म कथामा भुलेको भुलै । मैले सिठ्ठी प्रयोग गर्ने ठाउँ, कुकरबाट बाफ जाने ठाउँमा छेस्को हालेको कसैलाई थाहा थिएन । त्यसैले मभन्दा छिटो के पड्केको भन्ने कुरा पनि कसैलाई थाहा भएन । सिलिङनै उचालीएको, खानाका सिता माथि गएर टाँसिएको र चुल्हो भूईँमा भासिएको थियो । 
साझमा माख्लाघर सानुमुमा बेसीतिर घाँस लिन झर्दा धारामा कुच्चिएको कुकरको बिर्को देखेर सोध्नुहुन्छ । “के भयो ?” 
“कुकर पड्कियो बिहान । ” 
"ए, कुकर पड्किएको पो । मैले त कता गोलि हानेछन् भनेर सोचिराथेँ ।" 
हरेकमा जनयुद्धको भय छ । हाम्रा माख्लाघर दाईहरु दशैमा पनि घर आउनुहुन्न । ठूलोबाठूलीमा कान्छाबाकान्छीआमा खुलेर हास्न पनि पाउनुहुन्न । 

बिहीबार  

साझ परिसक्यो, विद्यालयबाट घरमा बाबा आइपुग्नुभएन । तल्लाघर सानुबुवा पनि आइसक्नुभयो । बाबा आउनुभएन । किन आएनन् बुढा ! मेरी आमालाई बडो चिन्ता छ । अँह, मलाई पर्वाह छैन । पहिले पहिले बाबा कहिलेकाही घर आउनुहुन्थ्यो । हामीलाई पढाउन नभ्याउने तर पारी गाउँका धेरै बच्चाहरु पढाउने बाबासँग हामी ज्यादा नजिक थिएनौं जति आमासँग थियौं । तैपनि बाबा फूर्ति र सान हुनुहुन्थ्यो विशेष गरी मेरी दिदीको । दिदीले कसरी थाहा पाइछिन् कुन्नि ? बाबालाई भन्दिन्छु भनेपछि आमा दिदीलाई पिटीहाल्नुहुन्थेन । खासमा अामाले हामीलाई पिटेर केही मात्र भयो भने जेल हाल्दिन्छु भनेर चेतावनी दिनुभएको थियो रे बाबाले। आमा स्वयंले भन्नुभएको रे।

कैलेकाही त बाबा हामीलाई माया नै गर्नुहुन्न जस्तो लाग्थ्यो । तर आमाको बाबाप्रतिको व्यवहारले म स्वतः बाबा पक्षधर हुन्थेँ । ममा एउटा प्रश्न जन्मिएको रहेछ । हाम्री आमा किन बाबालाई प्रेम गर्नुहुन्न ??

बाबा आउनुभएन । रात नै पो छिप्पिसक्यो । पल्ला घर गएर आमाले गुनासो गर्न भ्याइसक्नुभएछ । दाई आउनुभयो । आमाले दिदीलाई भन्नुभयो  "बाबा आउनुभएन नानी । के रैछ बुझ्न जानुपर्यो ।" मैले पहिलो पटक बाबाप्रति आमाको अथाह स्नेह, प्रेम पोखिदै गरेको देख्दैथिएँ । उता बाबा माओवादी कार्यकर्ताद्वारा समातिनु भएको खबर आएको थियो । माओवादी कति खतरनाक हुन्छन् भनेर मैले सुनेका सबै कुरा भुलेँ । त्यो पल म दङ्ग थिएँ । हाम्री आमा एकदुईजना जम्मा गरेर बाबा नआएको बेचैनीमा सुर्केपाटोको पल्लाछेउसम्म बिना उज्यालो दगुर्नु भएको थियो । अघि अघि राको बालेर दिपक दाईहरु बाबा खोज्न जानुभएको थियो । 
माओवादी नै माध्यम बन्यो आमाले बुवालाई माया गर्नुहुन्न भन्ने भ्रम निवारण गर्न ।

शुक्रबार 

बाबा खोई ? तिन जवान हाम्रो घरमा आए । बाबा त घाँस काट्न जानुभएको छ । मैले भनेँ । उनीहरुले आमालाई सोधेनन् । आमा वनको साधारण सभामा जानुभएको थियो र बाबा चरिकोट जानुपर्ने भएकाले घाँस काटेर गैहाल्ने योजनामा हुनुहुन्थ्यो । 
मैले केही सोधीन ति बिहानका पाहुनाहरुलाई । उनीहरु आफैँ बसे खटीयामा । कुरा गर्दै गर्दा उनीहरुले सोधे, “नानी, कुन पार्टी मन पर्छ ।” 
सेता अक्षरहरु मुनि जिवन्त रहने विद्यालयको काटोपाटी मात्र थाहा थियो मलाई । कालोपाटीमा लेखिएका अक्षरहरु पनि राम्रोसँग मेटिदैनथ्यो । 
उक्त व्यक्तिहरु माओवादी कार्यकर्ता नै थिए । किनकी अपरिचीत जोकोही माओवादी नै हुन्थ्यो ।  माओवादीसँग मेरा केही जिज्ञासाहरु थिए । "ति कस्ता होलान् ? किन त्यता लाग्या होलान् ? किन फरक प्रवृत्तीका र आक्रामक होलान् यिनीहरु? के मैले सम्झाएर सम्झिन्नन् होला ?" अपराधी मारेर अपराध सकिन्न भन्ने विश्वास गर्न सक्ने मैले अपराधी, सज्जन सबै खालका मानिस मार्ने स्वतन्त्रता बाेकेका जस्ता लाग्ने उनीहरुको खेल पटक्कै बुझ्न सकेको थिइनँ । 
एकचोटी बाबाको विद्यार्थी पर्ने दाईले एउटा समुह ल्याएर बिचकोठामा राख्यो । ति पनि अपरीचीत थिए र माओवादी नै । त्यो कोठा हजुरबाको जप गर्ने कोठा । उनीहरुले त्यही बम पो बनाएकी । गहृौं गहृौं दुई झाेलाले हामीलाई खुलदुलि दियो । कृष्ण धरावसीको जस्तो हामीले खोलेनौं त्यो झोला । हामी यहाँसम्म डरायौं कि उनीहरुले राखेको झोला लुकेर हेर्र्यौमात्र । अनि त पक्का बम । झोलाको चेन खोल्न पनि  सकेनौं ।  मेरी आमा रिसले चुर हुनुहुन्थ्यो । उनिहरुलाई देख्नासाथ अनुहारको भाव भङ्गिमा नै बिग्रिन्थ्यो । ठाडै विरोध गरीदिनुहुन्थ्यो । आज मलाई पक्का थियो, आमाले देखेमा यिनीहरुलाई राम्रो गर्नुहुन्न । 
एकदिन हनहन ज्वरो आइरहेको आमालाई । जब यिनीहरु जस्तै सिद्धान्त बोेक्ने एउटा टोली चन्दाको तनाव दिदै उकालो लागेका थिए मेरो मन पनि चस्स बिझेको थियो । त्यतिबेला अहोरात्र काममा खटिने दुब्लि आमाको दयनिय हाल मैले मात्र प्रत्यक्ष देखेको थिएँ । उहाँका आँखा टिल्पीलाएका थिए । पचासहजारले हजारौं पटक उनलाई पोल्ने गर्थ्यो उहाँलाई मात्र के एकदिन म पनि कहाँ छ पचास हजार भन्दै सोचि सोचि खोज्न थालेको थिएँ । चन्दा उहिल्यै मागेपनि आज अल्टिमेट सहित चन्दा मागको पर्चा घरको भित्तामा टाँसेर गएका थिए तिनीहरु । हाम्री आमाले बोलेका कुरालाई ख्यालख्याल ठान्दै गए ति बैमानहरु । 
म पनि हृदयदेखी रोएँ आमासँगै । आमा कापीरहनुभएको थियो अनि जाडो भएर गुन्द्री माथी आगनमा टाउको समाउदै पल्टिरहनुभएको । त्यतिबेला म पुरै आमाकै पक्षधर भएको थिएँ । 
ति पर्चा टाँस्ने दुईमध्ये एकजना त छौडेमा उड्यो रे । गोली लागेर साँच्चिकै उड्दै प्राणत्याग गरेछ । केही दिनमा आमालाई ज्वरोले त छोड्यो तर विविध प्रकारका तनावहरुले छोड्न सकेन । 
उनीहरु खटीयामा पलेटी कसेर बसीरहेका छन् । घरमा चुल्हो पनि बलेको छैन । म आगो बाल्ने तरखरमा छु ।
मैले पल्लाघरबाट एक हर्लिक्स दुध ल्याएँ र बसाएँ । 
धारामा जादै गर्दा उनीहरुले सोधेको प्रश्नको जवाफ कसरी दिने ? त्यहाँ बस्दा केही  मानिस झैं गफिदै गरेका उनीहरुलाई मैले भनेँ, "कसरी भन्नु ? मैले त कसैको सिद्धान्त पढेको छैन । कसको अलि उत्कृष्ट र मनपर्छ पछी थाहा होला, पढेपछी ।" 
आमा आउनुभयो । सायद, वनको साधारण सभा आज भएन । आमा आउना साथ उनीहरुले खुट्टा भुईमा झारे । 
म पनि सतर्क भएँ । किनकी म उनिहरुलाई जवाफ दिदै थिएँ । सांकेतिक रुपमा आमाले नबोल भनेजस्तो लाग्यो । म लुसुक्क भित्र छिरेँ । 
“किन आउनुभयो तपाईहरु ?” आमाले कडासँग सोध्नुभयो । 
उनीहरु भने “सरलाई भेट्नु छ ।”
“सर हुनुहुन्न । चरिकोट जानुभाछ ।” उनीहरुको रिस आमाले मतिर पनि खन्याउदै जानुभयो, “केही गर्ने हैन तँ । बरु, पढ । यिनीहरुलाई भात पकाउनु पर्दैन ।”
उनीहरुमध्ये कोही कराउदै थिए, आमासँग निउँ खोज्ने पाराले । “कराउनु पर्दैन म्याम, हामी तपाईको सरलाई केही गर्दैनौं ।” यसमा कता कता डर पनि मिसिए जस्तो लाग्थ्यो । शंङ्काले लङ्का जलाउँछ, डर त्रासमा अनेकन शंकाहरुको कहिलेकाही ओइरो लाग्थ्यो हाम्री आमाको हृदयमा । म अनेक गरेर सकारात्म हुन खोज्थे , बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने कुरामा म सहमत हुदै ।
जे सुकै उद्देश्यले हिडेका हुन् । यिनीहरुको पनि एकप्रकारको त्याग र बलिदान छ, कसैको पुरै विरोध गर्यो भने म उसैको पक्षमा अलिकति एक्कैछिन भएपनि उभिन मन पराउथेँ । उनीहरु मेरो उत्तरको प्रतिक्रिया दिदै थिएँ । “अँ, पढेको मानिसको विचारै भिन्न हुन्छ ।” 
मैले खाना बसालीनँ । उनीहरुले खाना पकाउ है भनेपनि आमासँग सावधान हुनुथियो। त्यतिबेलै ति व्यक्तिहरु बिचराको पात्र भए मेरालागि । तलामाथि गएर किताब पल्टाएँ । पछाडीको कोठामा "आमा" नामको किताब छ म्याक्सिम गोर्किको । मेरी दिदी कोर्षको किताबमाथि त्यहि किताब राखेर पढ्थिन् । 
"ट्याङ्याङ्ग" खुकुरी राखेको आवाज आयो । बाबा आउनुभयो । "चरिकोट गैसक्नुभाछ" आमाले भन्नुभाथ्यो । 
"नमस्कार सर ।" उनिहरुले भने ।
"नमस्ते । के छ ? बाले हात पनि मिलाउनुभयो । " 
हाम्रा बा कति सामान्य ? आमालाई एलर्जी हुने माओवादी बाबालाई किन हुदैन ? म सोच्दै थिएँ । तर यो स्वभाव परिस्थितीको माग हुँदो हो । आमा आगो भैदिदा बाबा धेरै पटक पानी हुनुभएको छ । 
बाबा एक्कैछिनमा तयार हुनुभयो चरिकोट जान र जादै गर्दा भन्नुभयो, "नानी उहाँहरुलाई खाना बनाएर देऊ है राम्रोसँग ।" 
आमा र बाबाबिचको फरक स्वभावले म राम्रोलाई नराम्रो र नराम्रोलाई पनि राम्रो देख्ने अभ्यास गर्थे ।
मैले बाबाको विनम्र आदेश पालना गरेँ । किनेर ल्याएको दुध पनि तताएर दिएँ । 
उनीहरुले राम्रोसँग मिठो मानेर खाए । उपलब्धिमा मैले आमाको आँखा तराई झेलेँ ।  कुनै कुरा र सोच प्रति हाम्री आमाको दृढता बेजोडको हुन्थ्यो र त्यसको अप्रत्यक्ष प्रभाव ममा पनि गडेको हुदो हो ।   

शनीबार

नुहाउने र लुगा धुने कार्यक्रम । तल्लो धारो र धारो अगाडी हामी आमा, छोरीहरु । खरानी लगाइएका लुगा र नुहाउदै गरेका आमाका बालबच्चा । म पनि ठुली भैसकेकी थिएँ पेटीकोट लगाएर नुहाउनुपर्ने । अब ठूली भयौं तिमीहरु, अलि बिचार पुर्याएर हिड्नु । कसैलाई मनपेट नदीनु । सुन्दा अनौठो लाग्थ्यो कसरी दिने होला आफ्नो मन अरुलार्ई, अनि यो पेट ? मनपेट । आमाको आदेशले हतियारको काम गर्यो । यो मन्त्र जस्तै बन्यो । जपिरहन थालियो, “मनपेट कसैलाई दिन हुदैन”,“मनपेट कसैलाई दिन हुदैन”,“मनपेट कसैलाई दिन हुदैन"  ।

यसरी गए यि बारहरु जो बारबार अाउदैनन् । केवल एक पटक अाए र गए ।