Wednesday, May 16, 2018

अनिश्चित यात्रा

मलाई घुम्न जाने चौपट इच्छा थियो । बिदाका दुई दिनमा पहिलो दिन शनिबार । घरमा विवाहको कार्यक्रम सकिएको भोलिपल्ट । घरका हल्का फुल्का काम गरियो । दिन बित्यो । आइतबार बिहान सबैजना लुगा धुन लागेकोले खाना बनाउनुपर्छ जस्तो लाग्यो । खाना बनाएँ घर सफा गरेँ । धारामा पानी लिन गएँ ।खाना खाएँपछि गज्जबको थकाइ लाग्यो । शारीरिक थकानले उठेर हिडिहाल्ने रुची लागिहालेन । जब लाग्यो तब दिनको २ बजिसकेको थियो । म तयार भएर हिड्दा ३ बज्नै लाग्यो । जडिबुटीको जाम झेलेर कोटेश्वर पुग्दा ४ बजिसक्यो । कलंकीमा बाटो बन्दै रैछ । त्यहाँको जामले भिरकोट निरको काले भिर को याद गरायो । म झरेँ । जाम नभएको भएँ बालाजुतिर लाग्ने सुर थ्यो । जामले सुर बदलिदियो । झरेर म नैकापतिर जाने गाडी चढेँ । म चढेको गाडि कहाँसम्म पुग्छ मलाई थाहा थिएन । हुन त कहाँसम्मको यात्रा पनि त थाहा थिएन । गाडि गुडिरह्यो । गाडि शहर छोड्दै बिस्तारै गाउँतिर लाग्दैथ्यो । म मनमनै सोचिरहेको थिएँ, यता भुकम्पले घरहरु भत्कायो कि भत्काएन होला ? छेउमा बस्न आइपुगेको दिदिलाई सोधिहालेँ । भन्नुभयो । "भत्कायो नि घर, यि सबै पछि बनाका घरहरु हुन् । (झ्यालबाट बाहिर बस्तितिर औलाले संकेत गर्दै)" । त्यो दिदि अगाडि बस्न जानुभो । एकैछिनमा बसपार्क आइपुग्यो । म हुर्किएको जस्तो गाउँठाउँ जाउँ मनले यहि पुकारीरहेको थियो । तर गाडि थलीको वसपार्कमा रोकियो । जहाँ वस्ती वाक्लै थियो । गाउँजस्तो नलाग्ने । सिमेन्टले अडिएका घरहरु । सबै यात्रुहरु झरे । म पनि ।
मैले पहाड देखेको थिएँ गाडिबाटै । र कल्पिसकेको थिएँ कि म त्यही डाडोको टुप्पातिर जान सक्छु । गाडी रोकेको ठाउँ दायाँ बायाँ बाटो थियो गाडी तलतिर जान लागेजस्तो लाग्थ्यो । मैले सहचालकलाई सोधेँ "कहाँ जान्छ यो गाडी अब ? " उनिहरुले सोधे "तपाई कता जाने हो र ?" 
म त घुम्न आको हो । कता जाने त थाहा छैन । 
चालक सहित सहचालक अनौठो मान्दै मतिर हेर्दै थिए । चालकले सोध्यो "कतिबेला फर्किनुहुन्छ त ?
मैले प्रतिप्रश्न गरेँ " यो बाटो चाँही कहाँ जान्छ ? "
"गाउँतिर ।" सहचालकले भन्यो । 
"हो म गाउँ जाने हो ।" भन्दै गाडिबाट झरेँ । 
"तपाईको मान्छे छ त गाउँमा ?" उसले म दायाँतिर लाग्दै गर्दा सोध्यो । 
अँ भनेर मुसुमुसु हाँस्दै म उकालो तिर लागेँ । 
"अघि त तलको बाटो सोध्दै हुनुहुन्थ्यो । तलतिर जाने हुनुहुन्थ्यो हैन र ? " पछिपछि आएको, ढाकाटोपी लाएको न होचो न अग्लो मानिसले सोध्यो । 
"हैन बाटो कहाँ जान्छ भनेर सोधेको मात्र ।" मैले भनेँ 
म थप बोल्न नचाहेको उसले थाहा पाएको हुनुपर्छ । त्यसपछि एक शब्द बोलेन । न म बोलेँ । एकछिन सम्म म अघि अघि थिएँ हिड्नमा । एकछिनमै म पछि परेँ । उसको घर अलिक उकालो चढपछि आइपुग्यो । बाटोबाट दाहिने तिरै उसको घर रैछ । मोड्ने बित्तिकै करेसाबारी । उ तरकारी टिपेर मात्र घरतिर लाग्यो । म अझै उकालोतिर लागेँ । 
एक्लो यात्री भएर होला म हरेक व्यक्तीप्रति जिज्ञासु थिएँ । यस्तो लाग्नुमा यात्रीलाई बासको आस भएर पनि हुनसक्छ । अहीले सम्झिदै छु, त्यो ढाका टोपी लगाएको मान्छे अपरिचित अनुहार भएर पनि डराएको हुन सक्छ ।
अलिकति माथि पसल जस्तो लाग्ने एउटा टहरा थियो । बाहिर एक महिला केही गर्दै छिन् । एउटा पुरुष उभीइरहेको । म लुरु लुरु उकालो चढ्दैछु । उसमा पक्कै जिज्ञासा लागेको हुदोहो उ उत्ता पट्टि टहराबाट यतापट्टि आयो जहाँबाट अलि माथीसम्मको बाटो देखिन्छ । उसले केहि बेर मैले नदेखे जस्तो हेरिरह्यो । म पनि जिज्ञासु थिएँ । यो के होला ? यहि पो बास बस्ने हो कि ? तर सूर्यास्त भैसकेको थिएन । मलाई त्यहाँ बस्नु थिएन जहाँबाट बजार नजिकै छ । टहरा पनि छेलियो । अब बनमा केटाकेटि खेलेको सुनीन थाल्यो । मेरो ध्यान त्यता गयो । "नानि हो सुन त म घुम्न आको हुँ । घुम्दा घुम्दै यहि रात पर्यो । तिम्रो घरमा आमालाई सोधेर आइदेउन मलाई बास दिने कि नदिने ….." आवश्यकताले हो कि मनको भयले खै कुन्नी किन मनमनै ति मधुर नानिहरुको स्वर सुनेपछि मैले यत्ति कल्पना गरिहालेँ । तिनीहरुलाई देख्ने रहर थियो तर तिनीहरु बाटो तिर आएनन् । म बाटो छोडेर वनतिर रमाउने बेला पनि थीएन । देखभेट नै भएन । अब साझ पर्न लागेको थियो । अलीकति कसैले बास दिएन भने ? भन्ने भयमा पनि थिएँ । कसैले बास त देला तर त्यही बासले जिवन नै उठिबास लगाउने अवस्था आयो भने ? द्रुत गतिमा मैले उकालो बाटो छिचोलेँ । म थली बजारबाट अलिक माथी पुगिसकेको थिएँ । देब्रेतिरको बाटो लागेँ । अब तेर्सो बाटो आयो । फेरी त्यहाँ पनि केही टहरा हरु देखिए । बाटो मुनिको टहराको आगनमा बच्चाहरु खेल्दै थिएँ । लाग्यो, अघि वनमा सुनिने केटिहरुको स्वर यही बच्चाहरुको जस्तो छ । बाटो माथि भएको प्रत्येक टहराबाट महिला मलाई नियालीरहेका थिए । बास माग्नु त परको कुरा मैले तिनीहरुलाई सिधै हेर्न पनि मन गरीनँ । तर जिज्ञासा धेर थोर मलाई पनि थियो । को होलान् तिनीहरु ? के सोचिरा होलान् । बोलाई हाल्ने पो हुन् कि आदि आदि ।
२०० मिटर जति अगाडि गएपछि एउटा डाडो आयो । डाडोमा दुईटा सँगै जोडिएका टहराहरु थिएँ । एउटा बन्द र अर्को खुल्ला । कुनै महिलाको आवाज आइराथ्यो त्यहाँबाट । त्यो डाडो मोडेपछि अगाडी वन देखिन्छ । न घर देखिन्छ न टहरा । वनको बिचमा बाटो छ । अगाडी वन मात्र छ जस्तो लाग्न थाल्यो । आखाँले देखुन्जेल वनजङ्गल मात्र छ । पाइलाहरु धरमराउन थाले । फरक्क फर्किएँ । त्यही टहरा अघिल्तिर गएँ जुन टहरा भर्खर कट्यो । अनुमान छ आफू जन्मे हुर्केको गाउँ ठाउँ जस्तो हो भने म पहाडको टुप्पामा पुगेकै छैन । त्यहाँ दिदी भनेर जान पनि एउटा कान्लो झर्नुपर्छ । "दिदि अगाडी गाउँ रैनछ भने म तपाईको टहरामा बास बस्न आउँछू है ।" केवल मनमनै भनेँ अनि फर्किएँ । यहाँबाट त शहर नजिकै देखिदैछ । डर लाग्यो ? स्वयंलाई प्रश्न गरेँ । डरके आगे जित हे । अझ अगाडि चल् केटि । स्वयंको आदेश स्वयं पालना गर्ने प्रयत्न रह्यो । ५० मिटर जति अगाडि दोबाटो आयो । त्यो मोड रमाइलो लाग्थ्यो । यतिबेला झपक्कै रात पर्न लागेको थियो । परिसकेको थिएन । त्यही उभिएँ एकछिन । सिधा अगाडीको गाउँ नैकाप जस्तै । नैकाप जाने बाटो आएजस्तो लाग्यो । मलाई त्यहाँ जान मन लाग्यो । त्यो नैकाप वा तारा दिदीको माइती होस् नहोस् मलाई त्यतै बास बस्न मन लाग्यो । अझ त्यो गाउँको बिच भागमा जस्ताको छाना भएको माटाको घरमा । 
तल एउटा पहाडको थुम्को छ । रमाइलो देखिन्छ । पैदल यात्रु हिड्ने बाटो राम्रो देखिन्छ । म उभिएको मोडबाट त्यो गाउँ जाने बाटो छैन । माथी जाउँ अलिक माथिनै पुगिएला जस्तो छ । गाउँ उभिएको ठाउँबाट तलतिरै देखिन्छ । मैले पिंक कलरको कुर्तामा कोही महिला उकालो लागिरहेको दृश्य देखेँ । म ति दिदिलाई अगाडि देखिएको गाउँ जाने बाटो सोध्ने बिचार लिएर मनमोहक पदमार्ग हुदै तल झरेँ । जब दिदि भेटेँ उनि रोकिइन् । स्वा स्वा ध्वनीले उनलाई उकालो चढ्दा गार्हो भैरहेको भान पर्थ्यो । दिदि त्यो गाउँ जाने बाटो कहाँ छ ? "वनै वन भएर जानुपर्छ कि त उ माथि बाट झर्ने बाटो छ" दिदिले भन्नुभयो । माथि गएपछि किन म तल झर्छु र ? मनमनै सोचेँ । दिदि यो नैकाप हैन ? 
"कहाँ हुनु, बसन टोल हो यो त" दिदिले भन्नुभयो । 
"ए हो र ।" मैले भनेँ । 
"दिदि हजुरको घरचाँही कता हो नि ?" 
"उ ति (त्यही) माथि ।" माथि डाडातिर देखाउँदै भन्नुभयो । 
"मलाई हजुरको घरमा बास दिनु है ।" मैले बासको प्रस्ताव राखेँ तर दिदि मौन । 
बास दिन्छु नभनीहाले पनि कुन्नि किन साझमा भेटेको त्यो दिदि अगाडि मलाई डर/पिर केही लागेन । थोरै अनि विस्तारै बोल्ने त्यो व्यक्तिको पिछा लाग्ने सुरमा भएँ म । मौनता भङ्ग गर्दै केही पाइला चालेपछि दिदिले 'हुन्छ' भन्नुभयो । झण्डै आधा घण्टा हिडेपछि दिदिको घर आयो । टहराकै रुपमा थियो घर । 
लेक रैछ । हरेक साल हिउँ पर्ने गर्छ रे दिदिले भनेको । बाटो अध्यारो भैसकेको थियो । जुनको प्रकाशमा हिडेथ्यौ हामी । 
कटेरामा पसिसकेपछि उहाँले आफ्ना श्रीमानलाई भन्नुभयो "ल है मैले पाहुना लिएर आएको छु ।"
कटेराको कुनाबाट "कोहो" को मसिनो आवाज आइरहेको थियो । 
म विस्तारै भित्र पसेँ । 
ढाका टोपि लगाएको, अन्दाजी ५० वर्ष माथिको, कपाल फुलिरहेको, जुंगा पालेको, दुब्लो र ब्राम्हण क्षेत्री जस्तो अनुहारको व्यक्ति देखेँ । नमस्कार गरेँ । 
नयाँ व्यक्ति देखेर नौलो मानेँ ति वृद्धले । कहाँकी नानी ? कताबाट ? कसरी ? जिज्ञासासहित प्रश्नहरु गरे उनले । मैले सोचेर जवाफ दिएँ । 
मैले "वास्तवमा म घुम्न निक्लिएकी हुँ । घुम्दै जादाँ यहाँ आइपुगेँ ।" भनेँ । 
दिदिले भन्नुभो "नैकाप हिडेको रे... काँ बसनटोल पो जान लागिराथ्यो ।"
म चुप रहेँ । 
"अझ बत्ति नै नबल्ने घरमा ताकेर हिडिराथ्यो ।" यसो भन्दै दिदि मुसुमुसु हास्नुभयो । म पनि हासेँ ।
सामान्य पुरुषहरु झै ति भिनाजु(दिदीको बुढा भएकाले)ले मानवताको नाताले मेरो पिर गरिराछन् झै लाग्यो । 
"हँ, कता हिडेको कता पुग्यो कि के हो? " बुढा भिनाजुले ले जिज्ञासासहित बिस्तारै सोधे । 
हुन त उनलाई लागेको विमारले स्वयंको पिर अरुको भन्दा ज्यादा हुन्थ्यो । उनले मेरो बारेमा पक्कै पिर गरेनन् । बरू जिज्ञासु उनका आँखाहरु अनेकन प्रश्नोउत्तरको पर्खाइमा थिएँ । केही कारण र असरबारे कुरा भए । खासमा १ घण्टा भन्दा बढी उकालो चढेपछि पाएको वास मेरो थप साहास थियो । आत्मविश्वास थियो । त्यसैले म प्रसन्न थिएँ । मेरो प्रसन्नताले पिर पनि कुलेलाम ठोकेको हुनुपर्छ ।
झोला बिसाएर हातखुट्टा धोएपछि मैले झोलामा भएको स्याउ र केरा झिकेँ । हिड्ने बेलामा दुई स्याउ र दुई केरा हालेको थेँ । एउटा ठुलो स्याउको दाना र एउटा केराको कोसा उहाँहरुलाई दिएँ । 
"पर्दैन, नानी पर्दैन । हामीलाई केही दिनु पर्दैन ।" भिनाजुले भने । दिदिले लय मिलाउनुभो । खाउँन खाउँ मैले ढिपी गरेँ । किनकी मलाई पनि खाइहाल्न मनथ्यो । 
यत्रो ढिपी गरेसी खाइदिउन त । दिदिले केराको बोक्रा तास्नुभो । म ढुक्क भएर अर्को झिकेर खाइहालेँ । बाँकी १ दाना स्याउ भोली बिहानलाई राखेँ । 
"म बिरामी परेँ बाबै । केही गर्न सक्दिनँ ।" बुढा भिनाजुले भने । कैलेकाही भात चाँही पकाउँछु । दाल भात तरकारी खानेबेलामा उनले भने । "ठिकै छ त । दिदिलाई यहि भए पनि ठूलो राहत हुन्छ ।" मैले भनेँ । 
निकै थाकिएको थियो । खाना खाएर विश्राम गरिहाल्ने कुरा भयो । "मेरो गाउँ घरमा मोक्तानहरु छिमेकी हुनुहुन्छ नि ।" दिदिहरु तामाङ भएको कुरा सुनेपछि मैले भनेँ । दिदिलाई भक्तपुर नजिकैबाट आएको म भनेपछि अलिक रुचि लाएर बोल्नुभाथ्यो । उहाँको माइती रैछ त्यहाँ । उहाँ खुशीले बोल्न थाल्नुभो । 
माइति भनेसी कस्तो चिज हुन्छ है । त्यहाँका हरेक कुरा, त्यहाँका मान्छे … सबै प्यारा हुने है ?
हो त । उहाँले यो ठाउँ था छ ? यो मान्छे था छ ? भन्न थाल्नुभयो । भक्तपुरको कसले कहाँ बिहे गरेको त्यो पनि भन्दै हुनुहुन्थ्यो दिदि ।
मेरो काम अँह, ए, के थरी ? भन्ने रह्यो एकछिन । 
भिनाजुले पकाएको भात, दाल, भुटेको आलु र अण्डा खाएर थाल मोल्न लागेँ । उहाँहरु एकै भएर नमोल भन्दै हुनुहुन्थ्यो । मैले सधै अरुलाई अन्त जादाँ भनेझै त्यहाँ पनि भनेँ : "मलाई आउछ नि भाडा मोल्न ।" अन्त भए कोही खिसिक्क भएपनि हास्थ्यो । त्यहाँ दुवै बुढाबुढि हासेनन् । "केही हुदैन मोलेर । छोरी जस्तो त हो नी म । दिदि पनि थाक्नुभाछ । तपाई बिरामी हुनुहुन्छ । सबै मोले त हुन्थ्यो मैले ।" भिनाजुतिर हेर्दै भनेँ । 
धेरै काम गर्ने मान्छे कम बोल्छ भन्थे । दिदि एकदम कम बोल्ने । हुन त म नयाँ मान्छे थिएँ । एकै छिनको संगतले मानवस्वभावबारे विश्लेषण गर्नु ठिक हैन । तर दिदि कम बोलेकै हो । मलाई यस्तो भान हुन्थो, "धेरै थाक्नुभाको होला । अफ्ठ्यारो लागिराथ्यो मलाई । दिदिको भाग भात खाएँ कि भनेर । त्यसैले पनि थालमा पस्किएको थोरै खाना घटाउन भनेँ । हुन त प्राय: म थोरै नै खान्छु । भुटेको आलु पनि भो भो खान्न भन्दाभन्दै मेरो थाल झरिहाल्यो । मनमनै मख्ख परेर खाएँ । दालमा नुन अलिक चर्को थ्यो । जति दिनुभो त्यति नै काफि भयो । अण्डा चाँहि धेरै कम लिएँ । बुढा भिनाजुले भुटभाट पारेर एउटा कचौरामा राख्नुभको रैछ । अलिकति मात्र थालमा राखेँ । बाँकी पछि दिदिले खानुभो । 
"हाम्रोमा यस्तै छ । मिठो छैन होला …" बुढा भिनाजुले भन्नुभो । "हाम्रो घरमा नि ठ्याक्कै यस्तै पाक्छ ।" मैले सुनाएँ ।
"अघि पछि त झण्डै ११ बजे पछि मात्रै सुत्छ म । पकाइतुल्याई, धन्दा सकाउँदा त समय लागिहाल्छ ।" दिदिले भन्नुभो ।
"आउदै ढिलो हुने रैछ हजुरलाई ।" मैले थपेँ । 
त्यो टहराको कुनामा एउटा काठको सुन्युस थियो । लामखुट्टेको टोकाईबाट बच्न झुल टाङ्ने कुरा भयो । सुन्यूसबाट झुल झिक्दै दिदिले भन्नुभयो "राहतमा आएको झुल ।" "ए, ए" हामिले मिलेर झुल टाङ्ग्यौं । 
बाक्लो ठूलो सिरक थियो । दिदिले कता सुत्ने भनेर सोध्नुभयो । मैले अनुमान गरिहालेँ दिदि पनि म बसिरहेकै खाटमा सुत्ने रैछ । भनेँ "भित्तामा ।" हामी सुत्यौ । थकानले निदाइपनि हालेछौं । 
बिहान ब्युझंदा ठूलो पानी परिराथ्यो । दर्के पानीले गर्दा छानाको जस्ता मज्जाले बजेको सुनिन्थ्यो र कति ठूलो पानी पर्यो भनेर अनुमान गर्न सकिन्थ्यो । उज्यालो नहुन्जेल कोही उठेन । एकछिन पछि दिदि उठेर ढोका नजिकै हिजो बेलुकाका भाडा मोल्न थाल्नुभो । ढोका छेउमा रहेको भाडा राख्ने गरेको काठको दराज भिजिराथ्यो । दिदिका चप्पल लगाएर म विस्तारै बाहिर निक्लेँ । डाडातिर टाप कसेँ । मन्त्रमुग्ध बनाउने प्राकृतिक दृष्य थियो । पानि परिरहेकै थियो तर सिमसिमे । मैले छाता पनि बोकेको थिएँ । त्यो डाडाको टुप्पामा पुग्दा मलाई पिसाब च्याप्यो । त्यही फेर्दिएँ । म अझ डाडाको वनतिर लागेँ । रुखका भिजेका पातहरुको पानी अनुहारतिर छर्कर्दै वा पानीका थोपाहरु हातमा झार्दै मुख धोएँ । अलिक पर चउर थियो । तलतिर वन । स–साना रुखका थुम्कै थुम्का । चराहरुको चिरविर । दुबोले ढाकेको चउर । पानीले भिजेको धर्ती । शितल हावा । सिमसिम पानी । पहाडहरुको शृङ्खला । हराभरा वनवुट्यान । उड्दै गरेको बादल । लाग्दै गरेको हुस्सु । हैट ! रातमा आएर लुसुक्क ति कडा परिश्रम गर्ने दिदिको टहरामा बास बसेको म शहरका सिमेन्ट र बालुवाले अडिएका घरहरु छिचोल्दै त्यस्तो ठाउँमा पुगेको रैछु । छिनमै मनचरी आई । ठाउँ मन पराई र सोधी, यही बसुँ ? यदि म यात्रु हुन्थीन भने, सांसारिक जगत मेरो लागि अनभिज्ञ थियो भने, मनकै कुरो सुनेर जिवन चलाउन सहज हुने भए पक्कै रोकिन्थेँ । 
मनोहर दृश्यमा उसै मोहित हुँदै फुर्किरहेको 'म'लाई स्वयं म नै थर्काउथेँ, "धेरै उत्साहित नहो ।" मन गगन नै पुगुँ झै गरेर उफ्रिरहेछ । एकैछिन मनले जितिटोपल्यो । र त चप्पल खोलेँ र तलतिर रहेको मनमोहक वन नजिकै गएर चिच्याएँ । उ................ । एकछिन प्रकृतिसँग मोहित भएँ र फर्किएँ । साझमा दिदि बिहान ६: ३० मा थानकोट झर्ने कुरा गर्दैहुनुहुथ्यो । हिड्दाहिड्दै हिजो धेरै हिडेजस्तो लागेको थ्यो मलाई । अफिस समयमा पुग्न अब म पनि सोही समयमा झर्दा ठिक हुने अनुमान गरेँ । वनको डाडामा आउँदा ६ बजिसकेको थियो । अनि त म उहाँ संगै ओरालो झर्नुछ । 
टहरामा पुगेँ । दिदि ग्यास पुस्न लाग्नुभएछ । चिसो चिसो लाग्यो । बुढा भिनाजु सुतिरहनु भाथ्यो । 
म नबोलौ चिया नपाक्ला । बोलौ "दिदिहरुको चिया पकाउने सुर छ कि छैन । द्धुविधाले एकछिन मौन रहेँ । उकुसमुकुस सामना गर्नुभन्दा बोल्न थालेँ । दिदि यो जस्ता राहतबाटै पाउनु भएको हो ? 
"अलिअलि हो ।" 
अनि यो पाल पनि होला । 
"अँ ।"
यो काठ त पक्कै हैन होला । टहराको पर्खाल नै काठ नै काठको थियो । 
अनि अरु के के पाउनुभयो राहतमा ? 
अरु त के हुनु र ? "नुन देको थ्यो । चामल । यस्तै त हो नी ।" 
मैले झल्यांस सम्झिएँ, घरमा फोन गर्नुपर्यो । 
फोन गरेँ । लाग्यो । उठ्यो । घरतिरबाट सोधनी भयो, कहाँ छेस ? 
"थानकोटबाट माथी डाँडाँमा ।" 
तु. अर्को प्रश्न आयो, तँ रविनदाईहरुसँग गकी होस् ?
"हैन ।"
अनि कसकोमा ? 
हेत्तेरी नामै सोधेनछु दिदि र बुढा भिनाजुको । 
अनि भनेँ, "एउटा दिदिकोमा ।"
तँ नचिनेको मान्छेकाँ गकी ? 
"अँ ।" 
फोन काटियो । 
म टहरा बाहिर पुगेको थिएँ बोल्दै । 
भित्र छिर्दै भनेँ "गाली पो गर्दिरा ।"
"के भन्नुभयो त? " बुढा भिनाजुले सोधे । 
तर दिदितिर हेर्दै भनेँ "तँ नचिनेको मान्छेकोमा बसेकी भन्दि'रा ।"
भित्र छिरीसक्दा अघिको द्दुविधा हटिसकेछ । 
"के छ चिया खाउँन ।" भनिहालेँ । 
"दुध छैन ।" बुढा भिनाजुले भने । 
"दुध चिया पर्दैन, कालो भएपनि हुन्छ, त्यसैले राम्रो गर्छ नि ।" 
दिदिले चिया पकाउनुभयो । 
चिया पिएर हामी निक्लियौं । 
"यत्रो उकालो ओरालो गरेर हस्पिटलमा काम भ्याउने भनेपछि दिदि त कडा मेहनत गर्दै हुनुहुदो रैछ ।" मैले भनेँ । "यो त के हो र ? पहिले त यो बाटो भारी बोकेर हिड्नुपर्थ्यो । काक्रो, मुला, स्कुस आदिका भारी कालिमाटीसम्म बोकेर जानुपर्थ्यो । बाटो कहाँ यस्तो थ्यो र पहिले !" भिरालो भन्ने संकेत गर्ने हात बनाउदै उहाँले भन्नुभो ।
"कति लड्नु भयो होला । यस्तो पानी पर्दा त चिप्लेर ।"
व्वाङ व्वाङ लड्थ्यो । कति लड्यो कति । त्यतिबेला भारी बोकेको अहिले पनि यो घुँडा दुख्दैछ । दिदिले घुँडा देखाउँदै भन्नुभयो । म अवाक् भएँ । मैले पर्यटन मन्त्रालयमा काम गर्दा धेरै चोटी टाइप गर्दा कल्पना गरेको पर्यटन पथमार्ग जस्तै थियो अहिलेको बाटो । अहिले बाटो हिड्न धेरै सजिलो भएको रैछ । लगभग माथि देखी तलसम्म बनेको थियो बाटो । सडक चाहि बन्ने क्रममा थियो । कच्ची बाटोबिचमा कता कता पिच सडक देखिन्थ्यो । मैले सोधेँ "यो कतै कतै थोरै बाटो चाँहि किन पिच गरेको होला है ? " गाडी उक्लिन गार्हो हुने ठाउँमा पिच गरेको रे । दिदिकानुसार । 
बाटोमा फाट्ट फुट्ट मोटरसाइल गुड्थे । बाटैमा पर्ने केही घरहरु सिमेन्टले बनेका थिए । हामी गैरीधारा पुग्नै लाग्दा माथि बाटै गाडि देखियो । मलाई गाउँघरमा गाडि भेट्न कुद्ने गरेको याद आयो । चाहेँ चामलको बोरा नै पिठ्यूमा किन नहोस् । काठमाण्डौ जाने गाडि छुट्ला भनेर खुट्टाहरु उसै बुटूटूटु ओरालो तिर हाम्फाल्थे । जति गाडि आउने सडक नजिकिन थाल्यो झन् कुद्न थाल्नु भो दिदि । मलाई अब खुजुरा भएको हजारमध्ये केही पैसा दिनु थियो दिदिलाई । अलिकति म पनि कुदेँ । झोलाको बाहिरी गोजिमै भएको पाँच सय दिएँ । लिदै नलिने दिदि फेरी । लिनुन दिदि केही किनेर लगाउनु । केहीको मतलब स्वेटर कि चप्पल थियो । उहाँ लोतेचप्पल लगाएर तलमाथि गर्नुहुदोरैछ । भुकम्पले गर्दा पूर्णरुपमा भत्किएको घरको विस्थापित रुप टहरा । टहराको बास । काटि ठोकेको ठाउँबाट पानि चुहिन्छ र राहतको रुपमा पहिलो किस्ता लगभग सबै बिरामी बुढा भिनाजुको ‍औषधि उपचारमै सक्किएको बुझियो । 
दोस्रो किस्ता पाउन घर डिपिसी गरिसक्नु पर्ने । त्यो परिवार घर बनाउने कुरामा अलमल्ल देखियो । दिदीको जागिर थानकोटमा छ । उकालो ओरालो सधै गर्न धौ धौ छ । पहाडको टुप्पातिर रहेको टहरामा नजाउँ बिरामी बुढा छन् । जाउँ कति दु: ख खेप्ने ? दिदिको सोच छ बुढालाई तलै बसाएर काम भ्याउने । उता बुढा भिनाजुलाई कर्मभूमि प्यारो छ । उनि तल थानकोट जादै नजाने । दिदिको अर्को कामनासहितको सोच छ, मिल्यो भने सरकारले तल घर बनाउन राहतस्वरुप किस्ता देओस् जहाँ छोरीको नाममा जग्गा छ । दिदिलाई लाग्छ, घर बनेपछि बुढा पनि भनेको मान्लान् कि । 
आर्थिक रुपमा विपन्न त्यो परिवार मेरो मनमा उत्कृष्ट कहलियो । श्रद्धापूर्वृक, स्नेहपूर्वक, आदर वा सम्मानपूर्वक म आभारी भएँ उहाँप्रति । अविस्मरणिय भयो उहाँहरु बस्ने टहरा रहेको क्षेत्र मेरो लागि । धन्य दिदी । धन्य बुढा भिनाजु ।