Wednesday, May 16, 2018

अनिश्चित यात्रा

मलाई घुम्न जाने चौपट इच्छा थियो । बिदाका दुई दिनमा पहिलो दिन शनिबार । घरमा विवाहको कार्यक्रम सकिएको भोलिपल्ट । घरका हल्का फुल्का काम गरियो । दिन बित्यो । आइतबार बिहान सबैजना लुगा धुन लागेकोले खाना बनाउनुपर्छ जस्तो लाग्यो । खाना बनाएँ घर सफा गरेँ । धारामा पानी लिन गएँ ।खाना खाएँपछि गज्जबको थकाइ लाग्यो । शारीरिक थकानले उठेर हिडिहाल्ने रुची लागिहालेन । जब लाग्यो तब दिनको २ बजिसकेको थियो । म तयार भएर हिड्दा ३ बज्नै लाग्यो । जडिबुटीको जाम झेलेर कोटेश्वर पुग्दा ४ बजिसक्यो । कलंकीमा बाटो बन्दै रैछ । त्यहाँको जामले भिरकोट निरको काले भिर को याद गरायो । म झरेँ । जाम नभएको भएँ बालाजुतिर लाग्ने सुर थ्यो । जामले सुर बदलिदियो । झरेर म नैकापतिर जाने गाडी चढेँ । म चढेको गाडि कहाँसम्म पुग्छ मलाई थाहा थिएन । हुन त कहाँसम्मको यात्रा पनि त थाहा थिएन । गाडि गुडिरह्यो । गाडि शहर छोड्दै बिस्तारै गाउँतिर लाग्दैथ्यो । म मनमनै सोचिरहेको थिएँ, यता भुकम्पले घरहरु भत्कायो कि भत्काएन होला ? छेउमा बस्न आइपुगेको दिदिलाई सोधिहालेँ । भन्नुभयो । "भत्कायो नि घर, यि सबै पछि बनाका घरहरु हुन् । (झ्यालबाट बाहिर बस्तितिर औलाले संकेत गर्दै)" । त्यो दिदि अगाडि बस्न जानुभो । एकैछिनमा बसपार्क आइपुग्यो । म हुर्किएको जस्तो गाउँठाउँ जाउँ मनले यहि पुकारीरहेको थियो । तर गाडि थलीको वसपार्कमा रोकियो । जहाँ वस्ती वाक्लै थियो । गाउँजस्तो नलाग्ने । सिमेन्टले अडिएका घरहरु । सबै यात्रुहरु झरे । म पनि ।
मैले पहाड देखेको थिएँ गाडिबाटै । र कल्पिसकेको थिएँ कि म त्यही डाडोको टुप्पातिर जान सक्छु । गाडी रोकेको ठाउँ दायाँ बायाँ बाटो थियो गाडी तलतिर जान लागेजस्तो लाग्थ्यो । मैले सहचालकलाई सोधेँ "कहाँ जान्छ यो गाडी अब ? " उनिहरुले सोधे "तपाई कता जाने हो र ?" 
म त घुम्न आको हो । कता जाने त थाहा छैन । 
चालक सहित सहचालक अनौठो मान्दै मतिर हेर्दै थिए । चालकले सोध्यो "कतिबेला फर्किनुहुन्छ त ?
मैले प्रतिप्रश्न गरेँ " यो बाटो चाँही कहाँ जान्छ ? "
"गाउँतिर ।" सहचालकले भन्यो । 
"हो म गाउँ जाने हो ।" भन्दै गाडिबाट झरेँ । 
"तपाईको मान्छे छ त गाउँमा ?" उसले म दायाँतिर लाग्दै गर्दा सोध्यो । 
अँ भनेर मुसुमुसु हाँस्दै म उकालो तिर लागेँ । 
"अघि त तलको बाटो सोध्दै हुनुहुन्थ्यो । तलतिर जाने हुनुहुन्थ्यो हैन र ? " पछिपछि आएको, ढाकाटोपी लाएको न होचो न अग्लो मानिसले सोध्यो । 
"हैन बाटो कहाँ जान्छ भनेर सोधेको मात्र ।" मैले भनेँ 
म थप बोल्न नचाहेको उसले थाहा पाएको हुनुपर्छ । त्यसपछि एक शब्द बोलेन । न म बोलेँ । एकछिन सम्म म अघि अघि थिएँ हिड्नमा । एकछिनमै म पछि परेँ । उसको घर अलिक उकालो चढपछि आइपुग्यो । बाटोबाट दाहिने तिरै उसको घर रैछ । मोड्ने बित्तिकै करेसाबारी । उ तरकारी टिपेर मात्र घरतिर लाग्यो । म अझै उकालोतिर लागेँ । 
एक्लो यात्री भएर होला म हरेक व्यक्तीप्रति जिज्ञासु थिएँ । यस्तो लाग्नुमा यात्रीलाई बासको आस भएर पनि हुनसक्छ । अहीले सम्झिदै छु, त्यो ढाका टोपी लगाएको मान्छे अपरिचित अनुहार भएर पनि डराएको हुन सक्छ ।
अलिकति माथि पसल जस्तो लाग्ने एउटा टहरा थियो । बाहिर एक महिला केही गर्दै छिन् । एउटा पुरुष उभीइरहेको । म लुरु लुरु उकालो चढ्दैछु । उसमा पक्कै जिज्ञासा लागेको हुदोहो उ उत्ता पट्टि टहराबाट यतापट्टि आयो जहाँबाट अलि माथीसम्मको बाटो देखिन्छ । उसले केहि बेर मैले नदेखे जस्तो हेरिरह्यो । म पनि जिज्ञासु थिएँ । यो के होला ? यहि पो बास बस्ने हो कि ? तर सूर्यास्त भैसकेको थिएन । मलाई त्यहाँ बस्नु थिएन जहाँबाट बजार नजिकै छ । टहरा पनि छेलियो । अब बनमा केटाकेटि खेलेको सुनीन थाल्यो । मेरो ध्यान त्यता गयो । "नानि हो सुन त म घुम्न आको हुँ । घुम्दा घुम्दै यहि रात पर्यो । तिम्रो घरमा आमालाई सोधेर आइदेउन मलाई बास दिने कि नदिने ….." आवश्यकताले हो कि मनको भयले खै कुन्नी किन मनमनै ति मधुर नानिहरुको स्वर सुनेपछि मैले यत्ति कल्पना गरिहालेँ । तिनीहरुलाई देख्ने रहर थियो तर तिनीहरु बाटो तिर आएनन् । म बाटो छोडेर वनतिर रमाउने बेला पनि थीएन । देखभेट नै भएन । अब साझ पर्न लागेको थियो । अलीकति कसैले बास दिएन भने ? भन्ने भयमा पनि थिएँ । कसैले बास त देला तर त्यही बासले जिवन नै उठिबास लगाउने अवस्था आयो भने ? द्रुत गतिमा मैले उकालो बाटो छिचोलेँ । म थली बजारबाट अलिक माथी पुगिसकेको थिएँ । देब्रेतिरको बाटो लागेँ । अब तेर्सो बाटो आयो । फेरी त्यहाँ पनि केही टहरा हरु देखिए । बाटो मुनिको टहराको आगनमा बच्चाहरु खेल्दै थिएँ । लाग्यो, अघि वनमा सुनिने केटिहरुको स्वर यही बच्चाहरुको जस्तो छ । बाटो माथि भएको प्रत्येक टहराबाट महिला मलाई नियालीरहेका थिए । बास माग्नु त परको कुरा मैले तिनीहरुलाई सिधै हेर्न पनि मन गरीनँ । तर जिज्ञासा धेर थोर मलाई पनि थियो । को होलान् तिनीहरु ? के सोचिरा होलान् । बोलाई हाल्ने पो हुन् कि आदि आदि ।
२०० मिटर जति अगाडि गएपछि एउटा डाडो आयो । डाडोमा दुईटा सँगै जोडिएका टहराहरु थिएँ । एउटा बन्द र अर्को खुल्ला । कुनै महिलाको आवाज आइराथ्यो त्यहाँबाट । त्यो डाडो मोडेपछि अगाडी वन देखिन्छ । न घर देखिन्छ न टहरा । वनको बिचमा बाटो छ । अगाडी वन मात्र छ जस्तो लाग्न थाल्यो । आखाँले देखुन्जेल वनजङ्गल मात्र छ । पाइलाहरु धरमराउन थाले । फरक्क फर्किएँ । त्यही टहरा अघिल्तिर गएँ जुन टहरा भर्खर कट्यो । अनुमान छ आफू जन्मे हुर्केको गाउँ ठाउँ जस्तो हो भने म पहाडको टुप्पामा पुगेकै छैन । त्यहाँ दिदी भनेर जान पनि एउटा कान्लो झर्नुपर्छ । "दिदि अगाडी गाउँ रैनछ भने म तपाईको टहरामा बास बस्न आउँछू है ।" केवल मनमनै भनेँ अनि फर्किएँ । यहाँबाट त शहर नजिकै देखिदैछ । डर लाग्यो ? स्वयंलाई प्रश्न गरेँ । डरके आगे जित हे । अझ अगाडि चल् केटि । स्वयंको आदेश स्वयं पालना गर्ने प्रयत्न रह्यो । ५० मिटर जति अगाडि दोबाटो आयो । त्यो मोड रमाइलो लाग्थ्यो । यतिबेला झपक्कै रात पर्न लागेको थियो । परिसकेको थिएन । त्यही उभिएँ एकछिन । सिधा अगाडीको गाउँ नैकाप जस्तै । नैकाप जाने बाटो आएजस्तो लाग्यो । मलाई त्यहाँ जान मन लाग्यो । त्यो नैकाप वा तारा दिदीको माइती होस् नहोस् मलाई त्यतै बास बस्न मन लाग्यो । अझ त्यो गाउँको बिच भागमा जस्ताको छाना भएको माटाको घरमा । 
तल एउटा पहाडको थुम्को छ । रमाइलो देखिन्छ । पैदल यात्रु हिड्ने बाटो राम्रो देखिन्छ । म उभिएको मोडबाट त्यो गाउँ जाने बाटो छैन । माथी जाउँ अलिक माथिनै पुगिएला जस्तो छ । गाउँ उभिएको ठाउँबाट तलतिरै देखिन्छ । मैले पिंक कलरको कुर्तामा कोही महिला उकालो लागिरहेको दृश्य देखेँ । म ति दिदिलाई अगाडि देखिएको गाउँ जाने बाटो सोध्ने बिचार लिएर मनमोहक पदमार्ग हुदै तल झरेँ । जब दिदि भेटेँ उनि रोकिइन् । स्वा स्वा ध्वनीले उनलाई उकालो चढ्दा गार्हो भैरहेको भान पर्थ्यो । दिदि त्यो गाउँ जाने बाटो कहाँ छ ? "वनै वन भएर जानुपर्छ कि त उ माथि बाट झर्ने बाटो छ" दिदिले भन्नुभयो । माथि गएपछि किन म तल झर्छु र ? मनमनै सोचेँ । दिदि यो नैकाप हैन ? 
"कहाँ हुनु, बसन टोल हो यो त" दिदिले भन्नुभयो । 
"ए हो र ।" मैले भनेँ । 
"दिदि हजुरको घरचाँही कता हो नि ?" 
"उ ति (त्यही) माथि ।" माथि डाडातिर देखाउँदै भन्नुभयो । 
"मलाई हजुरको घरमा बास दिनु है ।" मैले बासको प्रस्ताव राखेँ तर दिदि मौन । 
बास दिन्छु नभनीहाले पनि कुन्नि किन साझमा भेटेको त्यो दिदि अगाडि मलाई डर/पिर केही लागेन । थोरै अनि विस्तारै बोल्ने त्यो व्यक्तिको पिछा लाग्ने सुरमा भएँ म । मौनता भङ्ग गर्दै केही पाइला चालेपछि दिदिले 'हुन्छ' भन्नुभयो । झण्डै आधा घण्टा हिडेपछि दिदिको घर आयो । टहराकै रुपमा थियो घर । 
लेक रैछ । हरेक साल हिउँ पर्ने गर्छ रे दिदिले भनेको । बाटो अध्यारो भैसकेको थियो । जुनको प्रकाशमा हिडेथ्यौ हामी । 
कटेरामा पसिसकेपछि उहाँले आफ्ना श्रीमानलाई भन्नुभयो "ल है मैले पाहुना लिएर आएको छु ।"
कटेराको कुनाबाट "कोहो" को मसिनो आवाज आइरहेको थियो । 
म विस्तारै भित्र पसेँ । 
ढाका टोपि लगाएको, अन्दाजी ५० वर्ष माथिको, कपाल फुलिरहेको, जुंगा पालेको, दुब्लो र ब्राम्हण क्षेत्री जस्तो अनुहारको व्यक्ति देखेँ । नमस्कार गरेँ । 
नयाँ व्यक्ति देखेर नौलो मानेँ ति वृद्धले । कहाँकी नानी ? कताबाट ? कसरी ? जिज्ञासासहित प्रश्नहरु गरे उनले । मैले सोचेर जवाफ दिएँ । 
मैले "वास्तवमा म घुम्न निक्लिएकी हुँ । घुम्दै जादाँ यहाँ आइपुगेँ ।" भनेँ । 
दिदिले भन्नुभो "नैकाप हिडेको रे... काँ बसनटोल पो जान लागिराथ्यो ।"
म चुप रहेँ । 
"अझ बत्ति नै नबल्ने घरमा ताकेर हिडिराथ्यो ।" यसो भन्दै दिदि मुसुमुसु हास्नुभयो । म पनि हासेँ ।
सामान्य पुरुषहरु झै ति भिनाजु(दिदीको बुढा भएकाले)ले मानवताको नाताले मेरो पिर गरिराछन् झै लाग्यो । 
"हँ, कता हिडेको कता पुग्यो कि के हो? " बुढा भिनाजुले ले जिज्ञासासहित बिस्तारै सोधे । 
हुन त उनलाई लागेको विमारले स्वयंको पिर अरुको भन्दा ज्यादा हुन्थ्यो । उनले मेरो बारेमा पक्कै पिर गरेनन् । बरू जिज्ञासु उनका आँखाहरु अनेकन प्रश्नोउत्तरको पर्खाइमा थिएँ । केही कारण र असरबारे कुरा भए । खासमा १ घण्टा भन्दा बढी उकालो चढेपछि पाएको वास मेरो थप साहास थियो । आत्मविश्वास थियो । त्यसैले म प्रसन्न थिएँ । मेरो प्रसन्नताले पिर पनि कुलेलाम ठोकेको हुनुपर्छ ।
झोला बिसाएर हातखुट्टा धोएपछि मैले झोलामा भएको स्याउ र केरा झिकेँ । हिड्ने बेलामा दुई स्याउ र दुई केरा हालेको थेँ । एउटा ठुलो स्याउको दाना र एउटा केराको कोसा उहाँहरुलाई दिएँ । 
"पर्दैन, नानी पर्दैन । हामीलाई केही दिनु पर्दैन ।" भिनाजुले भने । दिदिले लय मिलाउनुभो । खाउँन खाउँ मैले ढिपी गरेँ । किनकी मलाई पनि खाइहाल्न मनथ्यो । 
यत्रो ढिपी गरेसी खाइदिउन त । दिदिले केराको बोक्रा तास्नुभो । म ढुक्क भएर अर्को झिकेर खाइहालेँ । बाँकी १ दाना स्याउ भोली बिहानलाई राखेँ । 
"म बिरामी परेँ बाबै । केही गर्न सक्दिनँ ।" बुढा भिनाजुले भने । कैलेकाही भात चाँही पकाउँछु । दाल भात तरकारी खानेबेलामा उनले भने । "ठिकै छ त । दिदिलाई यहि भए पनि ठूलो राहत हुन्छ ।" मैले भनेँ । 
निकै थाकिएको थियो । खाना खाएर विश्राम गरिहाल्ने कुरा भयो । "मेरो गाउँ घरमा मोक्तानहरु छिमेकी हुनुहुन्छ नि ।" दिदिहरु तामाङ भएको कुरा सुनेपछि मैले भनेँ । दिदिलाई भक्तपुर नजिकैबाट आएको म भनेपछि अलिक रुचि लाएर बोल्नुभाथ्यो । उहाँको माइती रैछ त्यहाँ । उहाँ खुशीले बोल्न थाल्नुभो । 
माइति भनेसी कस्तो चिज हुन्छ है । त्यहाँका हरेक कुरा, त्यहाँका मान्छे … सबै प्यारा हुने है ?
हो त । उहाँले यो ठाउँ था छ ? यो मान्छे था छ ? भन्न थाल्नुभयो । भक्तपुरको कसले कहाँ बिहे गरेको त्यो पनि भन्दै हुनुहुन्थ्यो दिदि ।
मेरो काम अँह, ए, के थरी ? भन्ने रह्यो एकछिन । 
भिनाजुले पकाएको भात, दाल, भुटेको आलु र अण्डा खाएर थाल मोल्न लागेँ । उहाँहरु एकै भएर नमोल भन्दै हुनुहुन्थ्यो । मैले सधै अरुलाई अन्त जादाँ भनेझै त्यहाँ पनि भनेँ : "मलाई आउछ नि भाडा मोल्न ।" अन्त भए कोही खिसिक्क भएपनि हास्थ्यो । त्यहाँ दुवै बुढाबुढि हासेनन् । "केही हुदैन मोलेर । छोरी जस्तो त हो नी म । दिदि पनि थाक्नुभाछ । तपाई बिरामी हुनुहुन्छ । सबै मोले त हुन्थ्यो मैले ।" भिनाजुतिर हेर्दै भनेँ । 
धेरै काम गर्ने मान्छे कम बोल्छ भन्थे । दिदि एकदम कम बोल्ने । हुन त म नयाँ मान्छे थिएँ । एकै छिनको संगतले मानवस्वभावबारे विश्लेषण गर्नु ठिक हैन । तर दिदि कम बोलेकै हो । मलाई यस्तो भान हुन्थो, "धेरै थाक्नुभाको होला । अफ्ठ्यारो लागिराथ्यो मलाई । दिदिको भाग भात खाएँ कि भनेर । त्यसैले पनि थालमा पस्किएको थोरै खाना घटाउन भनेँ । हुन त प्राय: म थोरै नै खान्छु । भुटेको आलु पनि भो भो खान्न भन्दाभन्दै मेरो थाल झरिहाल्यो । मनमनै मख्ख परेर खाएँ । दालमा नुन अलिक चर्को थ्यो । जति दिनुभो त्यति नै काफि भयो । अण्डा चाँहि धेरै कम लिएँ । बुढा भिनाजुले भुटभाट पारेर एउटा कचौरामा राख्नुभको रैछ । अलिकति मात्र थालमा राखेँ । बाँकी पछि दिदिले खानुभो । 
"हाम्रोमा यस्तै छ । मिठो छैन होला …" बुढा भिनाजुले भन्नुभो । "हाम्रो घरमा नि ठ्याक्कै यस्तै पाक्छ ।" मैले सुनाएँ ।
"अघि पछि त झण्डै ११ बजे पछि मात्रै सुत्छ म । पकाइतुल्याई, धन्दा सकाउँदा त समय लागिहाल्छ ।" दिदिले भन्नुभो ।
"आउदै ढिलो हुने रैछ हजुरलाई ।" मैले थपेँ । 
त्यो टहराको कुनामा एउटा काठको सुन्युस थियो । लामखुट्टेको टोकाईबाट बच्न झुल टाङ्ने कुरा भयो । सुन्यूसबाट झुल झिक्दै दिदिले भन्नुभयो "राहतमा आएको झुल ।" "ए, ए" हामिले मिलेर झुल टाङ्ग्यौं । 
बाक्लो ठूलो सिरक थियो । दिदिले कता सुत्ने भनेर सोध्नुभयो । मैले अनुमान गरिहालेँ दिदि पनि म बसिरहेकै खाटमा सुत्ने रैछ । भनेँ "भित्तामा ।" हामी सुत्यौ । थकानले निदाइपनि हालेछौं । 
बिहान ब्युझंदा ठूलो पानी परिराथ्यो । दर्के पानीले गर्दा छानाको जस्ता मज्जाले बजेको सुनिन्थ्यो र कति ठूलो पानी पर्यो भनेर अनुमान गर्न सकिन्थ्यो । उज्यालो नहुन्जेल कोही उठेन । एकछिन पछि दिदि उठेर ढोका नजिकै हिजो बेलुकाका भाडा मोल्न थाल्नुभो । ढोका छेउमा रहेको भाडा राख्ने गरेको काठको दराज भिजिराथ्यो । दिदिका चप्पल लगाएर म विस्तारै बाहिर निक्लेँ । डाडातिर टाप कसेँ । मन्त्रमुग्ध बनाउने प्राकृतिक दृष्य थियो । पानि परिरहेकै थियो तर सिमसिमे । मैले छाता पनि बोकेको थिएँ । त्यो डाडाको टुप्पामा पुग्दा मलाई पिसाब च्याप्यो । त्यही फेर्दिएँ । म अझ डाडाको वनतिर लागेँ । रुखका भिजेका पातहरुको पानी अनुहारतिर छर्कर्दै वा पानीका थोपाहरु हातमा झार्दै मुख धोएँ । अलिक पर चउर थियो । तलतिर वन । स–साना रुखका थुम्कै थुम्का । चराहरुको चिरविर । दुबोले ढाकेको चउर । पानीले भिजेको धर्ती । शितल हावा । सिमसिम पानी । पहाडहरुको शृङ्खला । हराभरा वनवुट्यान । उड्दै गरेको बादल । लाग्दै गरेको हुस्सु । हैट ! रातमा आएर लुसुक्क ति कडा परिश्रम गर्ने दिदिको टहरामा बास बसेको म शहरका सिमेन्ट र बालुवाले अडिएका घरहरु छिचोल्दै त्यस्तो ठाउँमा पुगेको रैछु । छिनमै मनचरी आई । ठाउँ मन पराई र सोधी, यही बसुँ ? यदि म यात्रु हुन्थीन भने, सांसारिक जगत मेरो लागि अनभिज्ञ थियो भने, मनकै कुरो सुनेर जिवन चलाउन सहज हुने भए पक्कै रोकिन्थेँ । 
मनोहर दृश्यमा उसै मोहित हुँदै फुर्किरहेको 'म'लाई स्वयं म नै थर्काउथेँ, "धेरै उत्साहित नहो ।" मन गगन नै पुगुँ झै गरेर उफ्रिरहेछ । एकैछिन मनले जितिटोपल्यो । र त चप्पल खोलेँ र तलतिर रहेको मनमोहक वन नजिकै गएर चिच्याएँ । उ................ । एकछिन प्रकृतिसँग मोहित भएँ र फर्किएँ । साझमा दिदि बिहान ६: ३० मा थानकोट झर्ने कुरा गर्दैहुनुहुथ्यो । हिड्दाहिड्दै हिजो धेरै हिडेजस्तो लागेको थ्यो मलाई । अफिस समयमा पुग्न अब म पनि सोही समयमा झर्दा ठिक हुने अनुमान गरेँ । वनको डाडामा आउँदा ६ बजिसकेको थियो । अनि त म उहाँ संगै ओरालो झर्नुछ । 
टहरामा पुगेँ । दिदि ग्यास पुस्न लाग्नुभएछ । चिसो चिसो लाग्यो । बुढा भिनाजु सुतिरहनु भाथ्यो । 
म नबोलौ चिया नपाक्ला । बोलौ "दिदिहरुको चिया पकाउने सुर छ कि छैन । द्धुविधाले एकछिन मौन रहेँ । उकुसमुकुस सामना गर्नुभन्दा बोल्न थालेँ । दिदि यो जस्ता राहतबाटै पाउनु भएको हो ? 
"अलिअलि हो ।" 
अनि यो पाल पनि होला । 
"अँ ।"
यो काठ त पक्कै हैन होला । टहराको पर्खाल नै काठ नै काठको थियो । 
अनि अरु के के पाउनुभयो राहतमा ? 
अरु त के हुनु र ? "नुन देको थ्यो । चामल । यस्तै त हो नी ।" 
मैले झल्यांस सम्झिएँ, घरमा फोन गर्नुपर्यो । 
फोन गरेँ । लाग्यो । उठ्यो । घरतिरबाट सोधनी भयो, कहाँ छेस ? 
"थानकोटबाट माथी डाँडाँमा ।" 
तु. अर्को प्रश्न आयो, तँ रविनदाईहरुसँग गकी होस् ?
"हैन ।"
अनि कसकोमा ? 
हेत्तेरी नामै सोधेनछु दिदि र बुढा भिनाजुको । 
अनि भनेँ, "एउटा दिदिकोमा ।"
तँ नचिनेको मान्छेकाँ गकी ? 
"अँ ।" 
फोन काटियो । 
म टहरा बाहिर पुगेको थिएँ बोल्दै । 
भित्र छिर्दै भनेँ "गाली पो गर्दिरा ।"
"के भन्नुभयो त? " बुढा भिनाजुले सोधे । 
तर दिदितिर हेर्दै भनेँ "तँ नचिनेको मान्छेकोमा बसेकी भन्दि'रा ।"
भित्र छिरीसक्दा अघिको द्दुविधा हटिसकेछ । 
"के छ चिया खाउँन ।" भनिहालेँ । 
"दुध छैन ।" बुढा भिनाजुले भने । 
"दुध चिया पर्दैन, कालो भएपनि हुन्छ, त्यसैले राम्रो गर्छ नि ।" 
दिदिले चिया पकाउनुभयो । 
चिया पिएर हामी निक्लियौं । 
"यत्रो उकालो ओरालो गरेर हस्पिटलमा काम भ्याउने भनेपछि दिदि त कडा मेहनत गर्दै हुनुहुदो रैछ ।" मैले भनेँ । "यो त के हो र ? पहिले त यो बाटो भारी बोकेर हिड्नुपर्थ्यो । काक्रो, मुला, स्कुस आदिका भारी कालिमाटीसम्म बोकेर जानुपर्थ्यो । बाटो कहाँ यस्तो थ्यो र पहिले !" भिरालो भन्ने संकेत गर्ने हात बनाउदै उहाँले भन्नुभो ।
"कति लड्नु भयो होला । यस्तो पानी पर्दा त चिप्लेर ।"
व्वाङ व्वाङ लड्थ्यो । कति लड्यो कति । त्यतिबेला भारी बोकेको अहिले पनि यो घुँडा दुख्दैछ । दिदिले घुँडा देखाउँदै भन्नुभयो । म अवाक् भएँ । मैले पर्यटन मन्त्रालयमा काम गर्दा धेरै चोटी टाइप गर्दा कल्पना गरेको पर्यटन पथमार्ग जस्तै थियो अहिलेको बाटो । अहिले बाटो हिड्न धेरै सजिलो भएको रैछ । लगभग माथि देखी तलसम्म बनेको थियो बाटो । सडक चाहि बन्ने क्रममा थियो । कच्ची बाटोबिचमा कता कता पिच सडक देखिन्थ्यो । मैले सोधेँ "यो कतै कतै थोरै बाटो चाँहि किन पिच गरेको होला है ? " गाडी उक्लिन गार्हो हुने ठाउँमा पिच गरेको रे । दिदिकानुसार । 
बाटोमा फाट्ट फुट्ट मोटरसाइल गुड्थे । बाटैमा पर्ने केही घरहरु सिमेन्टले बनेका थिए । हामी गैरीधारा पुग्नै लाग्दा माथि बाटै गाडि देखियो । मलाई गाउँघरमा गाडि भेट्न कुद्ने गरेको याद आयो । चाहेँ चामलको बोरा नै पिठ्यूमा किन नहोस् । काठमाण्डौ जाने गाडि छुट्ला भनेर खुट्टाहरु उसै बुटूटूटु ओरालो तिर हाम्फाल्थे । जति गाडि आउने सडक नजिकिन थाल्यो झन् कुद्न थाल्नु भो दिदि । मलाई अब खुजुरा भएको हजारमध्ये केही पैसा दिनु थियो दिदिलाई । अलिकति म पनि कुदेँ । झोलाको बाहिरी गोजिमै भएको पाँच सय दिएँ । लिदै नलिने दिदि फेरी । लिनुन दिदि केही किनेर लगाउनु । केहीको मतलब स्वेटर कि चप्पल थियो । उहाँ लोतेचप्पल लगाएर तलमाथि गर्नुहुदोरैछ । भुकम्पले गर्दा पूर्णरुपमा भत्किएको घरको विस्थापित रुप टहरा । टहराको बास । काटि ठोकेको ठाउँबाट पानि चुहिन्छ र राहतको रुपमा पहिलो किस्ता लगभग सबै बिरामी बुढा भिनाजुको ‍औषधि उपचारमै सक्किएको बुझियो । 
दोस्रो किस्ता पाउन घर डिपिसी गरिसक्नु पर्ने । त्यो परिवार घर बनाउने कुरामा अलमल्ल देखियो । दिदीको जागिर थानकोटमा छ । उकालो ओरालो सधै गर्न धौ धौ छ । पहाडको टुप्पातिर रहेको टहरामा नजाउँ बिरामी बुढा छन् । जाउँ कति दु: ख खेप्ने ? दिदिको सोच छ बुढालाई तलै बसाएर काम भ्याउने । उता बुढा भिनाजुलाई कर्मभूमि प्यारो छ । उनि तल थानकोट जादै नजाने । दिदिको अर्को कामनासहितको सोच छ, मिल्यो भने सरकारले तल घर बनाउन राहतस्वरुप किस्ता देओस् जहाँ छोरीको नाममा जग्गा छ । दिदिलाई लाग्छ, घर बनेपछि बुढा पनि भनेको मान्लान् कि । 
आर्थिक रुपमा विपन्न त्यो परिवार मेरो मनमा उत्कृष्ट कहलियो । श्रद्धापूर्वृक, स्नेहपूर्वक, आदर वा सम्मानपूर्वक म आभारी भएँ उहाँप्रति । अविस्मरणिय भयो उहाँहरु बस्ने टहरा रहेको क्षेत्र मेरो लागि । धन्य दिदी । धन्य बुढा भिनाजु ।

Monday, October 24, 2016

मेरा सात बार

हरेक बिहानी रात उठ्छ दिन बनेर । म पनि उठ्छु अर्को एकदिनको दिनचर्या बनाउन ।
मसँग एकहप्ताको फेहरिस्त याद छन्, 

आइतबार 

राती आँगनीमा बुटको डमडम आवाज आएको आमा कत्ति छिटो थाहा पाउनुहुन्छ मानौं उहाँ त्यही सुन्न धेरै दिनदेखी प्रतिक्षारत हुनुहुन्छ । रुन लागेका भाई तथा बहीनीको मुख थुनिन्छ । भुईतल्लामै छँदा बत्ति निभाईन्छ । मट्टितेलको सहारामा सल्किरहेको सलेजो बल्न छोडेपछी घर यस्तो चकमन्न हुन्छ मानौं सदियौं देखि कानमात्र छोडेर मानिस गायव छन् । बाहिर हजार पाइला उकालो लागेको आवाज बन्द भएपछी बल्ल हामी निर्धक्क सास फेर्छौं । आमा आनन्दको सुस्केरा हाल्नुहुन्छ र बाबा भाई बहिनी दुवैलाई दुई काँधमा हालेर सुताउन लैजानुहुन्छ ।  

सोमबार 

राती भिडन्तमा विद्यालयको शिक्षक गुमेको खबर गाउभरी फैलीन्छ । गाउँको कुनाकुनाका ढुङ्गा माटो पनि टोलाउछन् त्यो दुखद् खबरले । 
त्यसको केही समय पछि बाबाआमाले चिनेको (सायद साथी पनि हुनुपर्छ) च्यामाको एक व्यक्ति घिसारिदै दयनीय अवस्थामा मारिएको खबर आउँछ । एकपछि अर्का गर्दै घट्ने यस्ता घटनाले मानिसहरुको मानसिकतामा डर र त्रास पैदा भै मन्द विषको काम गर्दै थियो । 
ड्याङ ड्याङ आवाज जब मानिसका कानमा पर्छ तिनीहरु प्रार्थना पर्छन् भगवान् कोही चिनेजानेको नपरोस् । 

मङ्गलबार 

विद्यालय बिदा छ र हामी सबै स्तब्ध छौं । मैले अर्चलेबाट उकालो लाग्दा चक माख्लो खेतमा उफारेर कुद्दै समाउन जाने र पुन उही प्रकृया दाेहोर्याउदैँ लामाे बाटाे कटाउने एक सरल र असल शिक्षक सम्झिरहेँ । आफू पाइलट बन्छु भनेको पनि सम्झिरहेँ । 
बाख्रा चराउन बेसि लगियो । बाख्रा खेद्दै पछि पछि कुद्दा बडो रमाइलो हुन्थ्यो तर मकैबारीमा छिरेँ भने रुनु न हास्नु बनाउथे डाम्नाहरु । एउटा कालो पाठोको नाँच बडो रोचक हुन्थ्यो पछि ठूलो भएपछी हुथुथु गर्दै त्यो पाठी र बाख्रीको पछी लाग्न थाल्यो । हरीवशंको खसीको आत्मकथामा म पात्रको दाई जस्तै । तैपनी ऊ प्रिय थियो । त्यसलाई काटेपछी मैले उसको गर्धनको काला केशहरु पछीसम्म हेरीरहेँ ।  सम्झीरहेँ । भर्खर ऊ हिड्न जाँन्दा कत्ति खुशी हुदै उफ्रिन्थ्यो । उसकी आमा बसीरहँदा उनको फुलेको पेटमाथि आफू चढेर बस्थ्यो । जस्तासुकै ठूलठूला बाख्रा तथा खसीहरुसँग पनि जुध्न जान्थ्यो । कैलेकाही त भैसी र गाेरुसँग पनि खेल्न जान्थ्यो । मैले त्यो फुच्चे छँदै नाम राखिदिएँ, काल्याम । 
आज बेसीमा भाईहरु आए र मलाई सोधेँ दिदी "उड्नुहुन्छ ?"
पाइलट बन्ने भनेर सरसँग कहाँ त्यत्तिकै भने हुँला र ? उड्ने इच्छा नै नभएको भए । 
“उड्छु ।” मैले भनेँ उनीहरु यस्तरी हासे कि थाहा पाउन मुस्किल पर्थेन, तिनीहरु गिज्जीने मुडमा छन् । भाईहरु उल्लु र बकम्फुसे कुरामा माहिर । मैले एकाएक विचार परिवर्तन गरेँ र भनेँ “उड्दिनँ ।” 
"उड्नु न उड्नु ।" हामी उडाइदिन्छौं । 
"कसरी उडाउछौं ?" उनीहरुको पछि नलाग्ने प्रढ भएपनि मैले सोधेँ । उनीहरु हाँसीमात्र रहेँ । 
पल्लो खेतबाट अर्जुन दाई "तिमीहरुलाई केटा हो ।  पख, म नमारी कहाँ छोड्छु" भन्दै कान्लै कान्ला हाम्फाल्दै थिए । उनी रिसले चुर भएका थिए । 
उनीहरुले अर्जुन दाईलाई भर्खर कसरी उडाएको भनेर बताए ।  एउटा मानिसलाई डाँडाका ढुङ्गामा उभिन लगाउने, उसको आँखामा पट्टि बाँधिदिने र दुवै हात र खुट्टामा लठ्ठि राखेर त्यसलाई डोरीले बाधिदिने अनि लगाएको कपडा खोलीदिने । यत्ति गरेपछि मानिस उड्थ्यो । 
एकचोटी मैले रमाइलो खेल देखेँ भाइहरुको । भाईसँग दाई पनि मिल्दै दाजुभाई खेतमा खन्तिले खोप्थे । त्यहाँ बनेको प्वाँलभित्र आफ्नो कुरी छिराउदै पिसाब फेर्थे । उनीहरु यो बडो रमाउदै प्रतिस्पर्धात्मक तरिकाले गर्थे । 
एकदिन चौका खेतको एउटा ढुङगामाथी आचिको डल्लो थियो ।  सबैले छिछी दुरदुर गर्ने आँची पनि उनीहरुको खेलौना बन्थ्यो । म छक्क परेर तिनीहरुलाई हेर्थे । त्यस्तै एकदिन पल्लो गाउँको भाई सहित तिन दाजुभाईले रुम्टीमा एउटा खेत पानीले भरे र नाङ्गै भएर पौडन थाले । बिचरा अबोध बालकहरु, पौडदापौडदै खेतको पिर्रेले पोल्न थालेपछी छटपटाउदै तिनै भाई खोलामा जिउ पखालेर घरतिर हान्निए ।
  

बुधबार 

बिहान भान्सामा तल्लिन हुदै म कुकरमा भात बसाउछु । गोबर ग्यास छ हाम्रो घरमा र ग्यासको लागि गोबर निकाल्ने र बाबालाई एक डल्लो भात थपुँ थपुँ  लाग्ने बनाउने दुध दिने एउटा गुनी भैसी छ । 
ग्याँसचुल्होमा बसालेको कुकरमा सिठ्ठी हुँदैन र म छेस्को हालिदिन्छु । भित्रको कुरा भुलाउने मिठो कथा बाबाले सुनाउदै हुनुहुन्छ । अाँगनको डिलमा अामाले बनाएकाे सानाे झिँगटीको पर्खालमा दिदीसँग म पनि गएर बस्छु । पहिले पहिले बाबा अकबर र बिरबलको कथा सुनाउनुहुन्थ्यो । ठेकीमा मोही पार्दै कथा सुनाउने क्रममा निदाउनुहुन्थ्यो र बिरबल पात्र पलपल फेरिन्थ्यो र अकबर आफ्नै कथाबारे बेखबर हुन्थ्यो । अहिले बा न्यूटनको कथा सुनाउदै हुनुहुन्छ । ग्याँस चुल्लोमा कुकर भित्रको बाफ उकुसमुकुस भैरहेको छ । बाबाको कथा रफ्तारमा गैरहेको छ । आमा ढुनुफुनु गर्दै त्यतै कता हुनुहुन्छ । एक्कासी बम पड्कीन्छ । उफ् आज घरमै बम पड्कियो ।
यता कथामा खुसीले न्युटन नाङ्गै उफ्रिदै छन्, उनको अनुसन्धान उपलब्धीमूलक भएपछी । पानी भरी भएको भाडामा कुनै पदार्थ हाल्दा किन पोखीन्छ उनले पत्ता लगाएका छन् । काममा मग्न हुँदा खान पिउन भुल्ने बैज्ञानिक अहिले लाउनै भुलेको अवस्थामा छन् । उता आमा तर्सिएर कुद्दै आउनुहुन्छ । बाबाको अनुहार एकैचोटी परीवर्तन हुन्छ । म कुद्दै ग्याँस बन्द गर्ने मेनस्विचतिर दगुर्छु । दिदी अल्मलिदै झसंगीदै हुनुुहुन्छ । 
कुकर पड्कीयो । यो यथार्थ थाहा पाएपछि आमा त झन् कड्किनुहुन्छ । कुकरभित्रको बाफ जम्मा भएर निक्लने ठाउँ खोजेको खोजै । म कथामा भुलेको भुलै । मैले सिठ्ठी प्रयोग गर्ने ठाउँ, कुकरबाट बाफ जाने ठाउँमा छेस्को हालेको कसैलाई थाहा थिएन । त्यसैले मभन्दा छिटो के पड्केको भन्ने कुरा पनि कसैलाई थाहा भएन । सिलिङनै उचालीएको, खानाका सिता माथि गएर टाँसिएको र चुल्हो भूईँमा भासिएको थियो । 
साझमा माख्लाघर सानुमुमा बेसीतिर घाँस लिन झर्दा धारामा कुच्चिएको कुकरको बिर्को देखेर सोध्नुहुन्छ । “के भयो ?” 
“कुकर पड्कियो बिहान । ” 
"ए, कुकर पड्किएको पो । मैले त कता गोलि हानेछन् भनेर सोचिराथेँ ।" 
हरेकमा जनयुद्धको भय छ । हाम्रा माख्लाघर दाईहरु दशैमा पनि घर आउनुहुन्न । ठूलोबाठूलीमा कान्छाबाकान्छीआमा खुलेर हास्न पनि पाउनुहुन्न । 

बिहीबार  

साझ परिसक्यो, विद्यालयबाट घरमा बाबा आइपुग्नुभएन । तल्लाघर सानुबुवा पनि आइसक्नुभयो । बाबा आउनुभएन । किन आएनन् बुढा ! मेरी आमालाई बडो चिन्ता छ । अँह, मलाई पर्वाह छैन । पहिले पहिले बाबा कहिलेकाही घर आउनुहुन्थ्यो । हामीलाई पढाउन नभ्याउने तर पारी गाउँका धेरै बच्चाहरु पढाउने बाबासँग हामी ज्यादा नजिक थिएनौं जति आमासँग थियौं । तैपनि बाबा फूर्ति र सान हुनुहुन्थ्यो विशेष गरी मेरी दिदीको । दिदीले कसरी थाहा पाइछिन् कुन्नि ? बाबालाई भन्दिन्छु भनेपछि आमा दिदीलाई पिटीहाल्नुहुन्थेन । खासमा अामाले हामीलाई पिटेर केही मात्र भयो भने जेल हाल्दिन्छु भनेर चेतावनी दिनुभएको थियो रे बाबाले। आमा स्वयंले भन्नुभएको रे।

कैलेकाही त बाबा हामीलाई माया नै गर्नुहुन्न जस्तो लाग्थ्यो । तर आमाको बाबाप्रतिको व्यवहारले म स्वतः बाबा पक्षधर हुन्थेँ । ममा एउटा प्रश्न जन्मिएको रहेछ । हाम्री आमा किन बाबालाई प्रेम गर्नुहुन्न ??

बाबा आउनुभएन । रात नै पो छिप्पिसक्यो । पल्ला घर गएर आमाले गुनासो गर्न भ्याइसक्नुभएछ । दाई आउनुभयो । आमाले दिदीलाई भन्नुभयो  "बाबा आउनुभएन नानी । के रैछ बुझ्न जानुपर्यो ।" मैले पहिलो पटक बाबाप्रति आमाको अथाह स्नेह, प्रेम पोखिदै गरेको देख्दैथिएँ । उता बाबा माओवादी कार्यकर्ताद्वारा समातिनु भएको खबर आएको थियो । माओवादी कति खतरनाक हुन्छन् भनेर मैले सुनेका सबै कुरा भुलेँ । त्यो पल म दङ्ग थिएँ । हाम्री आमा एकदुईजना जम्मा गरेर बाबा नआएको बेचैनीमा सुर्केपाटोको पल्लाछेउसम्म बिना उज्यालो दगुर्नु भएको थियो । अघि अघि राको बालेर दिपक दाईहरु बाबा खोज्न जानुभएको थियो । 
माओवादी नै माध्यम बन्यो आमाले बुवालाई माया गर्नुहुन्न भन्ने भ्रम निवारण गर्न ।

शुक्रबार 

बाबा खोई ? तिन जवान हाम्रो घरमा आए । बाबा त घाँस काट्न जानुभएको छ । मैले भनेँ । उनीहरुले आमालाई सोधेनन् । आमा वनको साधारण सभामा जानुभएको थियो र बाबा चरिकोट जानुपर्ने भएकाले घाँस काटेर गैहाल्ने योजनामा हुनुहुन्थ्यो । 
मैले केही सोधीन ति बिहानका पाहुनाहरुलाई । उनीहरु आफैँ बसे खटीयामा । कुरा गर्दै गर्दा उनीहरुले सोधे, “नानी, कुन पार्टी मन पर्छ ।” 
सेता अक्षरहरु मुनि जिवन्त रहने विद्यालयको काटोपाटी मात्र थाहा थियो मलाई । कालोपाटीमा लेखिएका अक्षरहरु पनि राम्रोसँग मेटिदैनथ्यो । 
उक्त व्यक्तिहरु माओवादी कार्यकर्ता नै थिए । किनकी अपरिचीत जोकोही माओवादी नै हुन्थ्यो ।  माओवादीसँग मेरा केही जिज्ञासाहरु थिए । "ति कस्ता होलान् ? किन त्यता लाग्या होलान् ? किन फरक प्रवृत्तीका र आक्रामक होलान् यिनीहरु? के मैले सम्झाएर सम्झिन्नन् होला ?" अपराधी मारेर अपराध सकिन्न भन्ने विश्वास गर्न सक्ने मैले अपराधी, सज्जन सबै खालका मानिस मार्ने स्वतन्त्रता बाेकेका जस्ता लाग्ने उनीहरुको खेल पटक्कै बुझ्न सकेको थिइनँ । 
एकचोटी बाबाको विद्यार्थी पर्ने दाईले एउटा समुह ल्याएर बिचकोठामा राख्यो । ति पनि अपरीचीत थिए र माओवादी नै । त्यो कोठा हजुरबाको जप गर्ने कोठा । उनीहरुले त्यही बम पो बनाएकी । गहृौं गहृौं दुई झाेलाले हामीलाई खुलदुलि दियो । कृष्ण धरावसीको जस्तो हामीले खोलेनौं त्यो झोला । हामी यहाँसम्म डरायौं कि उनीहरुले राखेको झोला लुकेर हेर्र्यौमात्र । अनि त पक्का बम । झोलाको चेन खोल्न पनि  सकेनौं ।  मेरी आमा रिसले चुर हुनुहुन्थ्यो । उनिहरुलाई देख्नासाथ अनुहारको भाव भङ्गिमा नै बिग्रिन्थ्यो । ठाडै विरोध गरीदिनुहुन्थ्यो । आज मलाई पक्का थियो, आमाले देखेमा यिनीहरुलाई राम्रो गर्नुहुन्न । 
एकदिन हनहन ज्वरो आइरहेको आमालाई । जब यिनीहरु जस्तै सिद्धान्त बोेक्ने एउटा टोली चन्दाको तनाव दिदै उकालो लागेका थिए मेरो मन पनि चस्स बिझेको थियो । त्यतिबेला अहोरात्र काममा खटिने दुब्लि आमाको दयनिय हाल मैले मात्र प्रत्यक्ष देखेको थिएँ । उहाँका आँखा टिल्पीलाएका थिए । पचासहजारले हजारौं पटक उनलाई पोल्ने गर्थ्यो उहाँलाई मात्र के एकदिन म पनि कहाँ छ पचास हजार भन्दै सोचि सोचि खोज्न थालेको थिएँ । चन्दा उहिल्यै मागेपनि आज अल्टिमेट सहित चन्दा मागको पर्चा घरको भित्तामा टाँसेर गएका थिए तिनीहरु । हाम्री आमाले बोलेका कुरालाई ख्यालख्याल ठान्दै गए ति बैमानहरु । 
म पनि हृदयदेखी रोएँ आमासँगै । आमा कापीरहनुभएको थियो अनि जाडो भएर गुन्द्री माथी आगनमा टाउको समाउदै पल्टिरहनुभएको । त्यतिबेला म पुरै आमाकै पक्षधर भएको थिएँ । 
ति पर्चा टाँस्ने दुईमध्ये एकजना त छौडेमा उड्यो रे । गोली लागेर साँच्चिकै उड्दै प्राणत्याग गरेछ । केही दिनमा आमालाई ज्वरोले त छोड्यो तर विविध प्रकारका तनावहरुले छोड्न सकेन । 
उनीहरु खटीयामा पलेटी कसेर बसीरहेका छन् । घरमा चुल्हो पनि बलेको छैन । म आगो बाल्ने तरखरमा छु ।
मैले पल्लाघरबाट एक हर्लिक्स दुध ल्याएँ र बसाएँ । 
धारामा जादै गर्दा उनीहरुले सोधेको प्रश्नको जवाफ कसरी दिने ? त्यहाँ बस्दा केही  मानिस झैं गफिदै गरेका उनीहरुलाई मैले भनेँ, "कसरी भन्नु ? मैले त कसैको सिद्धान्त पढेको छैन । कसको अलि उत्कृष्ट र मनपर्छ पछी थाहा होला, पढेपछी ।" 
आमा आउनुभयो । सायद, वनको साधारण सभा आज भएन । आमा आउना साथ उनीहरुले खुट्टा भुईमा झारे । 
म पनि सतर्क भएँ । किनकी म उनिहरुलाई जवाफ दिदै थिएँ । सांकेतिक रुपमा आमाले नबोल भनेजस्तो लाग्यो । म लुसुक्क भित्र छिरेँ । 
“किन आउनुभयो तपाईहरु ?” आमाले कडासँग सोध्नुभयो । 
उनीहरु भने “सरलाई भेट्नु छ ।”
“सर हुनुहुन्न । चरिकोट जानुभाछ ।” उनीहरुको रिस आमाले मतिर पनि खन्याउदै जानुभयो, “केही गर्ने हैन तँ । बरु, पढ । यिनीहरुलाई भात पकाउनु पर्दैन ।”
उनीहरुमध्ये कोही कराउदै थिए, आमासँग निउँ खोज्ने पाराले । “कराउनु पर्दैन म्याम, हामी तपाईको सरलाई केही गर्दैनौं ।” यसमा कता कता डर पनि मिसिए जस्तो लाग्थ्यो । शंङ्काले लङ्का जलाउँछ, डर त्रासमा अनेकन शंकाहरुको कहिलेकाही ओइरो लाग्थ्यो हाम्री आमाको हृदयमा । म अनेक गरेर सकारात्म हुन खोज्थे , बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने कुरामा म सहमत हुदै ।
जे सुकै उद्देश्यले हिडेका हुन् । यिनीहरुको पनि एकप्रकारको त्याग र बलिदान छ, कसैको पुरै विरोध गर्यो भने म उसैको पक्षमा अलिकति एक्कैछिन भएपनि उभिन मन पराउथेँ । उनीहरु मेरो उत्तरको प्रतिक्रिया दिदै थिएँ । “अँ, पढेको मानिसको विचारै भिन्न हुन्छ ।” 
मैले खाना बसालीनँ । उनीहरुले खाना पकाउ है भनेपनि आमासँग सावधान हुनुथियो। त्यतिबेलै ति व्यक्तिहरु बिचराको पात्र भए मेरालागि । तलामाथि गएर किताब पल्टाएँ । पछाडीको कोठामा "आमा" नामको किताब छ म्याक्सिम गोर्किको । मेरी दिदी कोर्षको किताबमाथि त्यहि किताब राखेर पढ्थिन् । 
"ट्याङ्याङ्ग" खुकुरी राखेको आवाज आयो । बाबा आउनुभयो । "चरिकोट गैसक्नुभाछ" आमाले भन्नुभाथ्यो । 
"नमस्कार सर ।" उनिहरुले भने ।
"नमस्ते । के छ ? बाले हात पनि मिलाउनुभयो । " 
हाम्रा बा कति सामान्य ? आमालाई एलर्जी हुने माओवादी बाबालाई किन हुदैन ? म सोच्दै थिएँ । तर यो स्वभाव परिस्थितीको माग हुँदो हो । आमा आगो भैदिदा बाबा धेरै पटक पानी हुनुभएको छ । 
बाबा एक्कैछिनमा तयार हुनुभयो चरिकोट जान र जादै गर्दा भन्नुभयो, "नानी उहाँहरुलाई खाना बनाएर देऊ है राम्रोसँग ।" 
आमा र बाबाबिचको फरक स्वभावले म राम्रोलाई नराम्रो र नराम्रोलाई पनि राम्रो देख्ने अभ्यास गर्थे ।
मैले बाबाको विनम्र आदेश पालना गरेँ । किनेर ल्याएको दुध पनि तताएर दिएँ । 
उनीहरुले राम्रोसँग मिठो मानेर खाए । उपलब्धिमा मैले आमाको आँखा तराई झेलेँ ।  कुनै कुरा र सोच प्रति हाम्री आमाको दृढता बेजोडको हुन्थ्यो र त्यसको अप्रत्यक्ष प्रभाव ममा पनि गडेको हुदो हो ।   

शनीबार

नुहाउने र लुगा धुने कार्यक्रम । तल्लो धारो र धारो अगाडी हामी आमा, छोरीहरु । खरानी लगाइएका लुगा र नुहाउदै गरेका आमाका बालबच्चा । म पनि ठुली भैसकेकी थिएँ पेटीकोट लगाएर नुहाउनुपर्ने । अब ठूली भयौं तिमीहरु, अलि बिचार पुर्याएर हिड्नु । कसैलाई मनपेट नदीनु । सुन्दा अनौठो लाग्थ्यो कसरी दिने होला आफ्नो मन अरुलार्ई, अनि यो पेट ? मनपेट । आमाको आदेशले हतियारको काम गर्यो । यो मन्त्र जस्तै बन्यो । जपिरहन थालियो, “मनपेट कसैलाई दिन हुदैन”,“मनपेट कसैलाई दिन हुदैन”,“मनपेट कसैलाई दिन हुदैन"  ।

यसरी गए यि बारहरु जो बारबार अाउदैनन् । केवल एक पटक अाए र गए । 


Friday, September 16, 2016



केही समय अगाडी मेरो भेट एक व्यक्तिसँग भयो । उनी कलेज पठाउने एक शिक्षक पनि हुन् । आफ्नै कलेजको शिक्षक भएपनि मेरो विषय नपढाउने र कलेजका शिक्षकहरुमध्ये कान्छो भएकाले पनि मलाई बोल्न सहज हुन्थ्यो । हामी फेसबुके साथी । एउटा पत्रमा मबाट एक पत्रकार दाजु नराम्रो पात्र बनेपनि उक्त सरलाई भने सकारात्मक रुपमा नै लिन सक्छु । सायद सधैभरी । खाली समय हुँदा साथीहरुसँग च्याटीन मन पराउने म उक्त सरसँग पनि बोलेकी छु ।

तेरो व्वाइफ्रेन्ड छ कि छैन ? के तँ अझै कुमारी छस् ? हैट ! मलाई त कुमारी केटी मन पर्दैनन् । उसको बोल्ने शैली गज्जब लाग्थ्यो । म मनमनै सोच्थेँ, यसैले केटाहरु व्यवहार गर्न सहज हुन्छन् । प्रायः सम्मानलायक नै हुन्छन् । किनकी उनीहरुमा खुलेर बोल्ने र काम गर्ने संस्कार छ । प्राय लाज नलाग्नु र लागेको कुरा व्यक्त गरीहाल्नुपनि सायद पुरुषार्थ हो ।


उनी यसरी खुल्दै गएकी कतिकतिबेला त म ट्वाँ परीरहेको हुन्थेँ । जवान केटीमा हुने अपार यौनइच्छाका बारेमा पनि कुरा गरे सरले । नम्रता श्रेष्ठलाई सुन्दर, इमान्दार र सही भने । सन्नी लियोनलाई शुन्दर भने । सम्भोग नराम्रो हैन भन्दै उनले यसको शब्दार्थ पनि भन्न भ्याए, बराबरी भोग गर्नु । मैले पहिलो पटक यसरी शब्दार्थ सुनेँ । पत्रकार भएकाले म शंसकीत पनि थिए, यिनी मेरो केही गोपनीयता जान्न चाहदैछन् । केही समय अघि उनले भनेका पनि थिए, म किताब लेख्दैछु । सायद लेखीरहेको कितावको पात्रले पनि उनलाई मसँग केही अफ्ट्यारा कुरा पनि रिसाउनै नमिल्ने पाराले सरल शैलीमा खोल्न उत्प्रेरीत गरीरहेको थियो । यस्तो पनि लाग्थ्यो, मानौ उनी अन्वेषक हुन् र ममा केही अध्ययन गरीरहेछन् । पापी मन, नराम्रै पनि सोचिसक्थेँ । तर नराम्रो सोच्नु आवश्यकता नै थिएन । उनले के नै हानी गरेका थिए र मेरो ? बरु आफ्ना अनुभव सुनाएर नयाँ कुरा पस्कदै थिए । नराम्रै कुरा भएपनि फिल्टर गरेर सोच्नु मेरो काम हो । यसले जटिल कुरा पनि सहज रुपमा लिन मद्दत गथ्र्यो र जीवन सरल लाग्थ्यो । अपेक्षाको आभाष पाएर मैले आफ्नो सफाइ दिएँ, म युवती भएको नाताले तपाईका कुराप्रती सकारात्मक छु तर विवाहपूर्व मलाई त्यता ध्यान नदिन सके राम्रो लाग्छ । पुनः भनेँ, सानो छँदा, ममाथी भएको बाल दुव्र्यवहारले पनि स्वतः त्यस्ता क्रियाकलापप्रती संलग्नता हुने इच्छा हुदै भएन, छैन र सायद हुदैन पनि, अनी मनमनै पुकार्थेँ नहोस् पनि । किनकी म सधै साधिका हुन चाहन्छु र बुद्ध प्रभावित व्यक्ती ।

Sunday, August 14, 2016


आठ वर्ष अघि लेखिएको यो भद्रगोल लाग्न सक्छ, तैपनि अलिकति समसामयीक बनाउने प्रयत्न गरिएको छ, पाठकले मिलाएर पढ्नुभए नभद्रगोल पनि हुनसक्छ ।
अन्तरमन देखि जाग्न चाहने प्यारा साथीहरु,        
          साथी, एक परिवार देखि लिएर सिङ्गो राष्ट्रलाई नै पिरोलिरहेको अशान्ति, वैमनश्यता र यसले विभिन्न पक्षमा निम्त्याएको समस्याको बारेमा एक अवला नेपाली नारी नागरीकका हैसियतले सबैसामु आफूले बुझेको कुरा केही मात्र लेख्न चाहन्छे । । हुन त पाठकहरू विभिन्न उमेरका व्यक्तिहरू हुनुहुन्छ, यसले साथी भनी सम्बोधन गर्दा अन्यथा नलिनुहोला किनकी यसको मन साथ दिने सबै प्राणीलाई साथी भन्न रुचाउछ । यसको जीवनअनुभवमा कुनै विशेष व्यक्तिहरू मात्र साथी हुदैनन् जुन साथीहरूको साथले मात्र जीवन जीउन सरल होस् वा सकियोस् ।
यहाँ, राष्ट्रको मुल कानुन अर्थात् सविंधान लेखनपछि कार्यान्वयनको प्रक्रियामा हामीहरु विभीन्न स्वरुप र स्वभावहरू प्रस्तुत गर्न तम्सिएका छौ ।  साथीहरू, यस भूमिमा स्थायी सुख र शान्ति स्थापनाको लागि आन्दोलनरत जनमास सधै जागृत अवस्थामा नै रहन्छन् ।   यहाँ हामीले कस्तो उल्टो चलन चलाएका छौ, राष्ट्रिय विभुति तथा विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको विचारको कदर गर्छौ, उनिहरूको वर्ष–वर्षमा सम्झनास्वरुप विभिन्न कार्यक्रमहरू पनि गर्छौ तर ती महान् विचारहरू व्यवहारमा उतार्ने प्रयास गर्दैनौ,   साँच्चै ! गर्दै गर्दैनौ । असल विचार अनुशरण र असल व्यवहार नै वर्तमानको लागि महत्वपूर्ण छ तर हामी सम्झनालाई महत्व दिन्छौ अनी पछि, पछि कल्पनालाई । अत्यधिक सम्झना र कल्पना गर्ने बानी परेका हामी वर्तमान त भुसुक्कै भुल्छौ अनी बोली र व्यवहार फेरीरहन्छौ । कुनै संकल्प पुरा हुदैनन् । विभिन्न पार्टीका विभीन्न नेता कार्यकर्ताहरूमात्र हैन समग्र लोक नै अवस्थानुसार र समयानुसार बोली र व्यवहार फेरीरहन्छन्, यो परिवर्तन प्रकृतिको नियम हो भन्दा फरक नपर्ला । यहाँ कसैको दोष देखिदैन । मानिसको शरिरभित्र त अनगिन्ति अणु, परमाणुहरू उत्पन्न हुने र नष्ट हुने प्रक्रिया एकदमै तिब्र गतिमा भईरहेको हुन्छ भने त्यहि अणु, परमाणुले बनेको शरीर र भौतिक शरिर भित्र निहीत मन पनि एकदमै तिब्र गतिमा परिवर्तन हुन खोजिरहन्छ । जसले अथक प्रयासद्वारा मनलाई वशमा पार्न सक्छ, अनि शही मार्ग रोजी अघि बढी रहन्छ उही व्यक्ति असल र सफल हुन्छ । यहाँ कतिपय असल छन् तर सफल छैनन् कोही सफल छन् तर असल छैनन् । 

हामी अधिकासं व्यक्तिहरू शुन्दर गाँउ घरको याद सगैँ यस ठाउँ, समय र आफ्नो अवस्थानुसार आइपर्ने विभिन्न समस्याहरूसँग  पौठेजोरी खेल्दै यो शहरमा दिनरात, महिना या वर्षौ विताइरहेका छौ । हाम्रो छोटो जिन्दगीको आयु पनि विस्तारै घटिरहेको छ । आज हामी विभिन्न पारिवारीक वातावरणमा हुर्किएका विभिन्न तर सम्पूर्ण अनुहारहरू शान्ति प्राप्तिका लागि भुतका घटनाहरू सम्झिएर अर्थात् भविष्यलाई कल्पिएर वर्तमानमा तछाड–मछाड गर्दै तोडफोड, हुलदंगा, झै–झगडा, अनावश्यक विवाद जस्ता अशान्तिजनक कार्यमा आफ्नो मन, तन र धन समर्पित गर्न राजी हुन्छौ । छोटो जिवन भएपनि हामि धेरै दायित्वहरूको बोध गर्छौ । हामी मध्ये धेरै व्यक्तिहरूले परिवारकै उत्तरदायित्व बोकेका हुन्छौ जसले परिवारको भलोको लागी विना राग र द्धेष केही असल काम गर्दै रहन्छ ऊ विस्तारै समाजको लागी पनि केही गर्दै गएको हुन्छ, जसले गर्दा ऊ एउटा परिवारको मात्र आवश्यक व्यक्ति हुदैन ऊ समाजको पनि आवश्यक र प्रिय बन्छ विस्तारै उसको इलमले चर्चा पाउछ ऊ देश, विदेशको श्रदालु र प्रशंसा योग्य बन्छ, यो उसले गरेको विचार र विचारानुसार निरन्तर गरेको कर्मको नतिजा हुनजान्छ यसको मतलब असल कर्म नै ठुलो हुन्छ तर त्यहि कर्म निरन्तरताको भङ्गताले नै मानिस सानो हुन्छ । असल कर्मलेनै मानिस विद्धान हुन्छ भने खराब कर्मले मानिसलाई खराव बनाइदिन्छ ।  
आज विशेषतः युवा पिडीहरु बेरोजगारको मारमा छन्, तिनै पिडीहरू नै यहाँ प्रशस्त छन् जो एस्.एल.सी. पछिको या अघिको औपचारिक शिक्षामा असफल हुन्छन्, जो एउटा राम्रो इलम नपाएर विभिन्न संघ–संस्थामा कामको लागि धाउने गर्छन् अनि जागिर प्राप्तीको लागि गरेको दौडधुपको क्रममा घटेका विभिन्न घटनाहरूको अनुभव लिएर आ–आफ्नो बहालतर्फ लाग्छन्, सुर्यास्त भैसकेको हुन्छ । भिडम–भिड गाडि भित्र कतिपय महिला दिदी बहिनीहरू अधवैसेहरूले आफ्नो इन्द्रियहरूलाई वश गर्न नसकेर दिएको अनेक सास्ती र झन्झटहरू खेप्न बाध्य छन् । सडकमा धुलो, धुवा र फोहोरका डंगुरबाट आउने दुर्गन्ध यि सबै खाले विकृतिबाट हैरान भएका र उपत्यका भित्र यात्राको असरले टाउको तातेको, गाडिमा झुण्डिएको, झुण्डिदा टोपी उडाएको, च्यापिएको, निसासिएको, रिगँटा लागेको अर्थात् टाउको दुःखेको यि यस्ता विभिन्न अनुभवहरू सम्झदै गुन्द्रक र भात बनाएर खाई थकित हुदै सुत्ने यहाँ विभिन्न जिल्लाका अर्थात् गाउँबेसीका अधिकांस मानीसहरू    बस्छन् । साथीहरू, विभिन्न समस्याले पिरोलीएका, राष्ट्रको अस्पष्ट नितीबाट वाक्क भएका यी युवा पिडिहरूलाई सरकारले मार्ग निर्देश गर्न पनि यसभीत्र यस्तो योग्य जनशक्ति हुनु अत्यावश्यक छ, जुन जनशक्तिको विचारमा सम्पूर्ण लोक प्रति निस्वार्थ पे्रमभाव छ, जुन जनशक्तिले प्रत्येक नागरीकलाई कर्मको पाठ सिकाउन सक्छ, धर्मको मर्म बुझाउन सक्छ, । एउटा व्यक्ति जागृत भएमा पनि लोकले नयाँ मुहार फेर्न सक्छ जस्तै बुद्धको समयमा उहाँ जागृत हुदाँ अधिकाँस मानिसहरूले शान्तिको अनुभुति गर्न सकेको सत्य इतिहास जिवितै छ ।
सरकार बनाउन नेपाली बृद्ध, बृद्धाहरूको कस्तो भुमिका हुनुपर्छ ?
नेपाली आमाबुवाहरू अर्थात् मानवअवस्थाको अन्तिम चरणमा पुग्नुभएका अनुभवी बृद्ध–बृद्धाहरू जसले अनगिन्ति अनुभवहरूबाट ज्ञानको सङ्ग्रह गर्नुभएको छ उहाँहरूकै विकारमुक्त विचारहरूले  सरकार बनाउन ठुलो भुमिका खेल्छ । 
१) विभीन्न धर्म, पार्टी र संस्थामा सम्वन्ध रहेका वृद्ध–वृद्धाहरुले यो बुझ्नुपर्छ की जुनसुकै  धर्म, पार्टी, र संस्थाहरूपनि मानीसको मनले निर्माण गरेका हुन् । नदेखेको कुरामा विश्वास गरेर देखेको कुराबाट पलायन हुन खोज्दा नै दुःख पाइन्छ । त्यसैले वर्तमान समयलाई मध्यनजर गरेर नयाँ पार्टी, नयाँ धर्मको निर्माण गर्नु पर्छ जुन पार्टी र धर्मले सर्वहित गर्छ, जुन प्रत्येक व्यक्तिको साझा संस्था र संस्कार बन्न सक्नेछ । 
२) युवा–युवतीहरू तथा बाल–बालीकाहरूलाई शही मार्ग निर्देश गर्नुपर्छ जुन मार्गमा यात्रा गर्दा उनीहरू जिवनयात्राभरी अन्धकारको खाल्डोमा पर्न नसकुन् यदी कथम्कदाचित् खाल्डोमा परे आत्तिने र हरेश खाने बाटो रोज्न नसकुन् । 
३) निःस्वार्थ भावसहित आफूभित्र रहेको सद्विचार निसंकोचरुपमा सम्पूर्ण बृद्ध–बृद्धाले प्रचार गर्न सक्नुपर्छ । 
४) छोटो जिवनको अन्तिम अवस्थामा पूगेर पनि बृद्ध–बृद्धाहरूले देशलाई नयाँ रूप दिन सक्छन् जब उनीहरू सत्य र  सहि कुरा बोल्छन् या निर्देश गर्छन् । यसो गर्दा उनीहरूले यथेष्ट सम्मान प्राप्त गर्नेछन् र संचित शक्ति बलीयो हुनेछ ।  
सरकार चलाउन युवाहरूको जोश र उत्साहको कसरी शही उपयोग गर्ने ?  
साथीहरू, हामी युवाहरूले यो यथार्थ बुझ्ने प्रयत्न गर्नु पर्छ की, कीन हामी–हामी बिच वैरभाव, कुविचार, अशान्ति, तथा बदलाको भावना पैदा हुन्छ ? आजको समय मेरो अनुभवमा म यो निसंकोच र निर्धक्क भएर भन्न सक्छु, जो व्यक्तिले जब आफुलाई फर्केर हेर्ने गरेको हुन्छ, तब उसले अरुलाई पनि आफु जस्तै देख्न थाल्छ । आफु र अर्कोमा केहि फरक देख्दैन जसले गर्दा अरुको नराम्रो सोच्न सक्दैन अर्थात् अर्को नहुदा आफ्नो पनि अस्तित्व नहुने सत्य अनुभुति गर्छ, जस्तै लेखक नभई पाठक हुदैन पाठक नभई लेखकको के अर्थ र?, व्यापारी छैन भने ग्राहक हुदैन,  ग्राहक बिनाको व्यापारी कहाँ छ र ?  सबै अर्कासँग सम्बन्धीत छन् । यो यथार्थ बुझी सबैसँग मैत्रिभाव फैलन थाल्दा मानिसले शान्तिको महशुस गर्न सक्छ, शान्तिको वातावरण पैदा हुदाँ मनलाई एकत्रित गरी उसले गरेका हर कार्य सफल हुन्छन् । आफुभित्र निहीत यथेष्ट शक्तिको महशुस गर्न थाल्दा कसैप्रति रहेको रिस, द्धेष ईष्र्याको भावना  स्वतः हटेर जान थाल्छ । सबैको मङ्गल हुदाँ आफ्नो पनि मङ्गल हुन्छ भन्ने बुझि ऊ आफ्नो मङ्गलको लागी सवैलाई सेवा गर्न थाल्छ, परोपकारी कार्य र त्यसले सवैको अनुहारमा छरिएको खुशिको तरङ्गले उसलाई अनायासै अझै बढि भन्दा बढि सेवा गर्न आफुलाई सक्षम बनाइरहन्छ, हर समय कडा परिश्रम गर्न पछि पर्दैन । 

तसर्थ,
१) हामी प्रत्येक व्यक्तिले सर्वप्रथम आफुभित्र स्थायि शान्तिको स्थापना गर्ने मार्ग रोज्न सक्नुपर्छ तब स्वतः राष्ट्रमा स्थायी शान्तिको स्थापना हुन्छ । कथाकथित आन्दोलन र अनावश्यक विरोधले स्थायी शान्ति स्थापना हुनेछ भन्ने भ्रम हामीले पाल्न हुदैन । 
२) आफुभित्र निहित प्रचुर शक्तिको अनुभुति गर्नुपर्छ ।
३) आफ्नो मनलाई अनुकुल नियम र कानुनको परिधिमा मात्र पार्न प्रयत्न गर्नु पर्छ ।
४) अध्ययन अर्थात् निरन्तर असल कर्म गर्नुपर्छ । 
सरकार संवद्र्धन र संरक्षण गर्ने बालबालिकाहरूलाई हामीले कसरी लिनुपर्छ ?
        बृद्ध, बृद्धा  अस्ताउन लागेका डाडा माथिका घाम हुन् यीनीहरू नै नेपालको अस्तीत्व जोगाइराख्ने अस्तिका बालबालिका र हिजोका युवा युवती हुन्, त्यस्तै युवाहरू भनेका हिजोका बालबालिका र भोलिका बृद्धबृद्धा हुन् । तर, बालबालिका त भोली, पर्सिका युवा वा बृद्ध बृद्धा हुन् ।  बालबालिकाहरू जीवन यात्रा क्रममा अतितको अनुभवबाट शही मार्ग निर्देश गर्न सक्दैनन् उनीहरूसँग अतितका अनुभवहरू स्मरणमा हुदैनन् । तसर्थ, यीनिहरूलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने जिम्मा अभिभावकको हो अर्थात् बृद्ध–बृद्धा या युवा–युवतीको । अपवाद बाहेक सम्पूर्ण बालबालिकाहरू माथिल्लो अवस्थामा हीडीरहेका व्यक्तिहरूको बाटो पछ्याउछन् । माथिल्लो अवस्थामा हिडिरहेका मानिसहरूले रोजेको मार्ग जुन छ स्वभावैले उनीहरूपनि त्यही मार्ग अवलम्बन गर्छन् । त्यसैले हामी माथिल्लो अवस्थाका हर व्यक्तिहरूमध्ये कोही खराव मार्गतर्फ लागिराछौं भने तुरून्त मार्ग मोडौं जसले गर्दा हाम्रो हर बानीको नक्कल गर्ने अबोध बालबालीकाहरूले शहि मार्ग तर्फ आफ्ना पाइलाहरू चाल्न सक्नेछन् । 
आज विभिन्न अवस्थामा जीउदै गरेका प्रत्येक प्राणीहरूले एकचोटि त मृत्युवरण गर्नै पर्छ, यो धु्रवसत्य हो की मृत्यु सवैको साथमा छ, यहाँ प्रत्येक प्राणीले जन्मदै मृत्यु साथमा बोकेर आएका हुन्छन् । 
       अन्तरमन देखि इच्छा गरेमा मानीसले गर्न नसक्ने काम केहि छैन भन्ने कुरा हामी विश्वास गछौँ, हामी सबै वास्तवमै शान्ति चाहन्छौ । त्यसको लागि हामी प्रत्येक नागरीक राष्ट्रमा स्थायी शान्ति स्थापनाकोलागि अन्तरहृदयदेखी (मानसीक, शारीरिक तथा व्यवहारीक रुपले) आफ्नो शरीर अन्त्य हुनु भन्दा पहिले नै यो कुरामा सचेत रहनै पर्छ कि आफूभित्र रहेको वैमनश्यता, पुर्वाग्रही भावना, कुविचार (आक्रमक भाव, वैरी भाव), आलश्यता, रीस, राग, द्धेष, अहंकार जस्ता मनका विकारहरूद्धारा भावी पीडि ग्रसित हुनु नपरोस् । बालबालिका नै भविष्यका कर्णदार हुन्, उनीहरूलाई असल कर्म निर्देश गर्न हामीले आफुमा परिवर्तन ल्याउनै पर्छ । कर्म भन्दा ठूलो धर्म संसारमा अरु केहि छैन । तनलाई वशमा पार्दै सच्चा मनले गरेको कर्म भन्दा ठुलो अरु केहि छ भने त्यो मिथ्या भ्रम मात्र हो । भ्रामिक जाल मात्र हो । 

Monday, June 6, 2016

प्रिय गाउले दाजु,

प्रिय गाउले दाजु,तिमीबाट टाढा, म आराम छु, ठिक छु । तिमी पनि ठिक होलाउ । गाउले दाई रमाइलो, घमाइलो गाउँसँग जोडिएकोले पनि मेरो तिमीप्रति सधै शुभकामना रहन्छ । महाभुकम्प आएर गएर सानासाना पराकम्पन आइरहदै गर्दा नयाँ वर्ष लागेको एक महिना पनि भैसकेछ । अब तिजको लहर आउछ वरी लै । हाम्री भाउजु, तिम्री पियारी, दुलही झैँ सिंगारीन्छिन् र माइत हिन्छिन् । उनी माइतमा व्रत बस्नेछिन् । तिम्रो लामो आयूको लागि । तिम्रो स्वास्थ्यलाभको लागि । तिम्रो उन्नती, प्रगतिको लागि । उनको भोकाएर न्याउरो अनुहार पनि तिम्रो हसिलो अनुहारको कल्पना गदागर्दै बदलिन्छ र मुस्कानले तेजिलो हुन्छ । नखाएर नातागतले कालो उनको अनुहार तिमीलाई सम्झेरै उज्यालो हुन्छ । अस्ति भर्खर जन्मिएकी छोरी काटीकुटी तिमी जस्तै छ दाई । बेलाबेलामा तिम्रो आवाज सुन्दै सानी छोरी हेरेर मात्रै उनी केही समय तिमीबाट छुट्टीएर माइतमा रमाइरहनेछिन् । तर के तिमी भाउजू नहुँदा अफिसबाट काम सकिनासाथ घर फर्कलाउ? अँह मलाई लाग्दैन जति भाउजु तिमीसँग समर्पित छिन् तिमी पनि उनीप्रति त्यतिनै समर्पीत छौं । तिमीलाई त लाग्छ, तिमी अलि बढी स्वतन्त्र छौं । चतुर, बलवान छौं त्यसैले घरको जेठो, बाठो हौं । कुनै व्यक्ति वास्तवमै हिरो होस््््् वा असल नेता वा जोसुकै होस् तिमी कसैलाई मान्दैनौं । को बुद्ध ? को गान्धी ? त्यो पनि तिमीलाई पर्वाह छैन । किन तिमीलाई यस्तो अनुभूति हुन्छ थाहा छ दाई ? तिमीलाई कोही पुज्छ, अरुले भन्दा एक पाइला अगाडि सरेर बुझ्छ, तिमीलाई छाता ओढाएर आफू रुझ्छ । त्यो “कोही” अरु कोही होइन तिम्रै जोई हुन्, हाम्री भाउजु हुन् । भाउजु नारी हुन् । जुन घरमा नारीको सम्मान हुदैन त्यस घरमा देवताले वास गर्दैनन् । छलकपटले उहाँको सम्मान हुदैन र श्रीमतीलाई छलेर बाहीर कसैसँग अनैतिक सम्बन्ध राख्न खोज्नु छलकपटको उदाहरण हो ।कहि कतै कहिल्यै तिम्रो बारेमा नराम्रो नसुनेको म तिमीले एकछीन भेट्ने कुरा गरेपछि म ससम्मान तिमीलाई भेट्न आएकी थिएँ । त्यसरी आएकी बहीनीलाई तिमीले कसरी वा कस्तो मनोभाव बोकाएर फर्कार्यौ ? थाहा छ दाजु? तिमी कसरी थाहा पाउथ्यौ ! अन्दाज गर्न सक्दैनौ न म त्यसबारे खुलाउनुको अर्थ देख्छु । तर तिमीले सेक्स्युअल ह्यारेसमेन्ट गर्यौ । त्यसैको प्रतिक्रिया म यो पत्र कोर्दैछु तिमीलाई सम्बोधन गर्दै । Young अवस्थामा यौनइच्छा सामान्य इच्छा हो । तिमी आफूसरहका साथीसँग यी विषयमा खुलेर कुरा गर्न सक्छौं तर बहीनीसँग हैन । नयाँ कुरा छन् भने घरका सदस्यसँग पनि सामान्यीकरण गरेर जनचेतनाका लागि भन्न सक्छौ तर म गाउले बहीनीलाई बोलाएर त्यस्ता कुरा गर्न त सुहाउँदैन भने यौनक्रियाकलाप त नसोच्दा पनि हुन्छ । किनकी दाजु, यो नेपाल हो र नेपाली संस्कार र संस्कृतिअनुसार यस्ता कुरा यहाँ अनैतिक हुन्छन् । म त झन् नेपालीपनले ग्रस्त छु र त यस्ता कुराहरुसँग त्रस्त छु । पश्चिमेलीको प्रभाव बढ्दै गएपनि त्यसैतरहले आफ्नो संस्कृति र संस्कार घट्दै गएको ठान्नु हुदैन । यो भ्रम हो । हो, यहाँ तिमीलाई लाग्ने इच्छा सबैलाई लाग्छ । तर कुन सन्दर्भमा कसको संगत, सहयोग आवश्यक हुन्छ ? बिचार गरेर हिड्नुपर्छ । नत्र तिमी मान्छेको रुपमा बोकोसरी हुन्छौं । तिमीसँग म राम्रोसँग बोल्थेँ किनकी तिमी पत्रकारीतामा मेरो लागि अग्रज थियौं, छौं । पत्रकारीता पढेको हैसियतले यस क्षेत्रमा अगाडि कसरी बढ्ने म सल्लाह लिन खोज्थेँ । तिमीलाई धेरै राम्रो पो सोच्थेँ त्यसैले पनि तिम्रै विनम्र आग्रहमा भेटेको थिएँ मैले । त्यहिबेला नै हिमालको हिउँलाई तातो हावाले पगालेझैँ पगालियो तिम्रो असल व्यक्तित्व, मेरो मनमष्तिस्कबाट । मेरो नजरबाट यसरी गिर्यौं कि तिमी सायद अब उठ्न सक्दैनौ । अन्तमा दाजु, चाहेर वा नचाहेरै तिम्रो मतिरको दाउ मैले बुझीसकेकोले एउटा कुरा भन्नु छ । तिमीजस्ता यौनप्यासीहरुको समूह बनाएर एउटा ‘वैधानिक र व्यवस्थित वेश्यालय खोल्नुपर्छ’ भन्ने आवाज निकाल र सरकारलाई दबाव देऊ आवाज सुन्न, गुन्न र कार्यान्वयन गर्न । आफ्ना मागहरु आफैले पुरा गर्ने त हो । तिम्रा ति यौन आवश्यकताहरुले उत्कर्षको रुप लिए भने वेश्यालय सही रुपमा काम लाग्न सक्छ । यौनतृप्ती खोज्दै तड्पीरहेकाहरु सबैले तिमीलाई धन्य भन्नेछन्, जय जयकार गर्नेछन् । यसले ठमेलमा लुकी लुकी वेश्याहरुले देहव्यापार गर्नु पनी पर्दैन । प्रेमको नाममा धेरै केटाकेटीहरुले यौनहिंसाको लेनदेन पनि गर्नुपर्दैन । हो दाजु, आफ्नो लागि त्यो बाटो सोच्यौ भने आफूजस्ताहरुको लागि पनि राम्रो होला की?
उही तिम्री गाउँले बहीनी

Wednesday, December 16, 2015

समस्या
हो,  म मान्छु, सास हो समस्या
भोग, रोग, शोक खास हो समस्या
गाउँ फर्की जाउला तर के खाउला
अदुरदर्शिता र त्रास हो समस्या